भदौ २४ गते राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने योजना थियो : प्रचण्ड

भदौ २४ गते राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने योजना थियो : प्रचण्ड

बागलुङ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनको दोस्रो दिन गत भदौ २४ गते राष्ट्रपतिलाई पदबाट हटाएर देशमा विदेशीहरूको ‘कठपुतली सरकार’ बनाउने ठूलो षड्यन्त्र भएको दाबी गरेका छन्।

बागलुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसपछिका घटनाहरू सामान्य नभएको र त्यसले देशलाई भयावह स्थितिमा पुर्याउन खोजेको बताए।

कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘२४ गतेको त्यो घटनाको उद्देश्य केवल जलाउने र लुट्ने मात्रै थिएन, राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेनजस्तै अवस्थातर्फ धकेल्ने योजना रहेको थियो भन्ने हामीले थाहा पायौं।’

उनले उक्त संकटपूर्ण समयमा आफू र सहसंयोजक माधव कुमार नेपालले विशेष विवेक र पहलकदमी लिएर देशलाई दुर्घटनाबाट जोगाएको दाबी गरे।

संयोजक प्रचण्डले वर्तमान निर्वाचनलाई सामान्य चुनावी प्रतिस्पर्धा मात्र नभई विदेशी शक्तिको इसारामा देशलाई अस्थिर बनाउन खोज्ने तत्व र राष्ट्रवादी शक्तिबीचको महासंग्रामको रूपमा चित्रण गरे।

‘भदौ २४ गतेदेखि २६ गतेसम्म राज्य कसले चलाएको थियो भन्ने गम्भीर प्रश्न उठेको छ,’ उनले प्रश्न गर्दै भने, ‘यो निर्वाचन देशको नेतृत्व जनताकै हातमा छ भन्ने स्थापित गर्ने लडाइँ हो।’

विश्व राजनीति नयाँ र जटिल चरणमा प्रवेश गरेको भन्दै उनले नेपालको भूगोललाई ठूला शक्ति राष्ट्रहरूले आफ्नो स्वार्थ र द्वन्द्वका लागि प्रयोग गर्न सक्ने खतरा औंल्याए।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि २७ गते साँझ मात्र प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी थिइन्। त्यसबीचमा देशमा कसलाई प्रधानमन्त्री बनाउने भन्नेबारे सेना र जेनजीका प्रतिनिधिहरुबीच लामो छलफल भएको थियो।

माघ २९, २०८२ बिहीबार १३:५१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।