टी-२० विश्वकपमा आज नेपाल र इटाली भिड्दै, पहिलो जितको खोजीमा नेपाली टोली

टी-२० विश्वकपमा आज नेपाल र इटाली भिड्दै, पहिलो जितको खोजीमा नेपाली टोली

काठमाडौं : आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह 'सी' को खेलमा आज नेपाल इटालीविरुद्ध मैदानमा उत्रिँदैछ। मुम्बईको वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरू हुनेछ।

बलियो टोली इंग्ल्यान्डसँगको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेर पनि झिनो अन्तरले पराजित भएको नेपाल, आज इटाली विरुद्ध जित निकाल्दै महत्त्वपूर्ण २ अंक जोड्ने लक्ष्यमा छ। यो नेपाल र इटालीबीचको पहिलो अन्तर्राष्ट्रिय टी-२० भेट हो।

सुपर-८ मा पुग्ने सम्भावना बलियो बनाउन नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब नभए पनि जित अत्यावश्यक जस्तै छ। अर्कोतर्फ, आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले पराजित भएको इटाली पनि पुनरागमनको प्रयासमा हुनेछ।

खेलाडी र टोलीको अवस्था
इंग्ल्यान्ड विरुद्धको खेलमा ब्याटर लोकेश बम र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेका थिए। लोकेश बमले २१ बलमा ३९ रन बनाएर आफ्नो क्षमता सिद्ध गरिसकेका छन्।

बलिङतर्फ सन्दीप लामिछाने इटालीका ब्याटरहरूका लागि चुनौती बन्न सक्छन्। नेपालले आज पनि इंग्ल्यान्ड विरुद्ध खेलेकै टोली (प्लेइङ ११) लाई निरन्तरता दिने सम्भावना छ।

इटालीका नियमित कप्तान वेन म्याडसेन घाइते भएका कारण आजको खेल गुमाउनेछन्। उनको अनुपस्थितिमा ह्यारी मनेन्टीले टोलीको कप्तानी गर्नेछन्। स्कटल्याण्ड विरुद्ध ५२ रन बनाएका बेन मनेन्टी इटालीका मुख्य खेलाडी हुन्।

वानखेडे स्टेडियमको पिच ब्याटिङका लागि राम्रो मानिन्छ। यसअघिका खेलहरूमा यहाँ १६० भन्दा माथिको स्कोर बनेको थियो। दिउँसोको खेल भएकाले शीतले प्रभाव पार्ने छैन, तर मुम्बईको गर्मीले खेलाडीहरूलाई केही चुनौती दिन सक्छ।

इटालीसँगको खेलअघि कप्तान रोहित पौडेलले इंग्ल्यान्डसँगको हारबाट पाठ सिक्दै टोली उच्च मनोबलका साथ मैदान उत्रने बताएका छन्।

उनले भनेका छन्, ‘हामीले योजना राम्रो बनाएका छौं, अब त्यसलाई मैदानमा लागू गर्ने समय आएको छ।’

माघ २९, २०८२ बिहीबार ०७:३२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।