टी२० विश्वकपमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दियो १८८ रनको लक्ष्य
एजेन्सी : अहमदाबादमा जारी टी-२० विश्वकपको १३औं खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १८८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रनको बलियो योगफल खडा गरेको हो।
दक्षिण अफ्रिकाको इनिङ्सको मुख्य आकर्षण ओपनर क्विन्टन डि कक र तेस्रो नम्बरमा आएका रायन रिकेल्टनको ब्याटिङ रह्यो।
डि ककले ४१ बलमा ५ चौका र ३ छक्कासहित ५९ रनको इनिङ्स खेले। उनी रासिद खानको बलमा इब्राहिम जाद्रानद्वारा क्याच आउट भए।
रायन रिकेल्टनले आक्रामक ब्याटिङ गर्दै मात्र २८ बलमा ६१ रन बनाए। उनले आफ्नो इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरे। उनी पनि रासिद खानकै बलमा एलबीडब्लु धरापमा परे।
यी दुई ब्याटरबीच दोस्रो विकेटका लागि ५२ बलमा १०० रनको उत्कृष्ट साझेदारी भयो, जसले दक्षिण अफ्रिकालाई बलियो स्थितिमा पुर्यायो।
कप्तान एडेन मार्क्रम भने ५ रनमै फजलहक फारुकीको बलमा आउट भए।
युवा ब्याटर डेवाल्ड ब्रेभिसले १९ बलमा २३ रन बनाए भने मार्को जानसेनले अन्तिम ओभरमा आक्रामक ब्याटिङ गर्दै ७ बलमा १६ रन जोडेर टिमको स्कोर १८७ सम्म पुर्याए। डेभिड मिलर २० रनमा अविजित रहे।
अफगानिस्तानका लागि कप्तान रासिद खान र अजमतुल्लाह उमरजाईले कसिलो बलिङ गरे।
रासिद खानले ४ ओभरमा २८ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिए। अजमतुल्लाह उमरजाईले ४ ओभरमा ४१ रन दिएर ३ विकेट हात पारे। फजलहक फारुकीले १ विकेट लिए भने मुजिब उर रहमान र मोहम्मद नाबी विकेटविहीन रहे।
खेलको दोस्रो इनिङ्स केही बेरमा सुरु हुनेछ। जितका लागि अफगानिस्तानले ९.४ रन प्रति ओभरको दरले रन बनाउनुपर्नेछ।
माघ २८, २०८२ बुधबार १२:४९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।