मिसन पुस्तान्तरण-१८ : सप्तरी-२ मा ३३ वर्षीय मोहम्मदको काँधमा सीके र सतिशलाई रोक्ने चुनौती

मिसन पुस्तान्तरण-१८ : सप्तरी-२ मा ३३ वर्षीय मोहम्मदको काँधमा सीके र सतिशलाई रोक्ने चुनौती

काठमाडौं : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपाली राजनीतिमा सुशासन र पुस्तान्तरणको बहसलाई नयाँ उचाइमा पुर्यायो। सडकबाट उठेको यो आवाजको प्रभाव आसन्न निर्वाचनमा दलहरूले छनोट गरेका उम्मेदवारहरूमा पनि देखियो पनि।

पुराना दलहरूमाथि प्रश्न उठिरहेको समयमा एमालेले यसपटकको निर्वाचनमा युवा कार्ड प्रयोग गरेको छ। एमालेले ४० वर्ष मुनिका १३ जना युवालाई उम्मेदवार बनाएर पुस्तान्तरणको सन्देश दिन खोजेको छ। तिनै १३ युवामध्येका एक हुन्- ३३ वर्षीय मोहम्मद जियाउल रहमान।

सप्तरीको ‘हट सिट’ मानिने निर्वाचन क्षेत्र नम्बर-२ बाट उम्मेदवारी दिएका मोहम्मद यतिबेला सांसद बन्ने सपनासहित घरदैलोमा व्यस्त छन्।

तर सप्तरी-२ को चुनावी मैदान मोहम्मदका लागि सहज भने छैन। यो त्यही क्षेत्र हो, जहाँबाट २०७९ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गरेका थिए।

यसपटक पनि डा. सीके राउत आफैँ चुनावी मैदानमा छन्। राउतसँगै जसपा नेपालबाट पूर्वसांसद उमेशकुमार यादव र स्वाभिमान पार्टीबाट पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह प्रतिस्पर्धीहरू मैदानमा छन्।

विगतको तथ्याङ्क हेर्दा, २०७९ मा सीके राउतले ३५ हजार ४२ मत ल्याउँदा उपेन्द्र यादवले १६ हजार ९७९ मतमा चित्त बुझाउनुपरेको थियो। त्यसअघि २०७४ मा भने उपेन्द्र यादव यही क्षेत्रबाट निर्वाचित भएका थिए।

यसरी ठूला नेताहरूको प्रभाव क्षेत्र रहेको सप्तरी-२ मा एमालेका तर्फबाट ३३ वर्षीय मोहम्मदले ३४ जना प्रतिस्पर्धी (२० दलीय र १४ स्वतन्त्र) लाई पछि पार्नु फलामको चिउरा चपाउनु सरह हो।

सुर्खेतको पढाइदेखि सप्तरीको राजनीतिसम्म
सप्तरीको राजविराज नगरपालिका-१, रहमतपुरका स्थायी बासिन्दा भए पनि मोहम्मदको बाल्यकाल र किसोरवय सुर्खेतमा बित्यो। बुवा सरकारी शिक्षक भएकाले बुवाको जागिरसँगै उनी सुर्खेत पुगेका थिए।

सुर्खेतको बडाखुलीस्थित नेपाल राष्ट्रिय माविबाट २०६४ सालमा एसएलसी उत्तीर्ण गरेका उनले सूर्य ज्योति उच्च माविबाट प्लस टु सके। सुर्खेत शिक्षा क्याम्पसबाट बीएड पढ्दै गर्दा उनी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भएर राजनीतिमा होमिए।

विद्यार्थी राजनीतिसँगै उनले आफ्नो अध्ययनलाई पनि निरन्तरता दिए। रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौंबाट समाजशास्त्रमा स्नातकोत्तर (एमए) र फार्मेसीमा डिप्लोमा गरे।

२०७४ सालमा बुवा सेवा निवृत्त भएर सप्तरी फर्किएपछि मोहम्मद पनि भूगोलको राजनीतिमा केन्द्रित भए।

२०७९ को स्थानीय चुनावदेखि गाउँमै सक्रिय रहेका उनी एमालेको मधेश प्रदेश कमिटी सदस्य हुँदै अहिले सप्तरी जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा छन्। पार्टीले युवा र पढेलेखेको अनुहार खोज्दा मोहम्मदले यो ऐतिहासिक अवसर पाएका हुन्।

तलबको ५० प्रतिशत जनताकै लागि खर्चने मोहम्मदको वाचा
संसदमा पुगेर नीति निर्माणसँगै समाजसेवा गर्ने सपना बुनेका मोहम्मदले मतदातासामु केही महत्वाकांक्षी र जनमुखी वाचाहरू गरेका छन्।

उनले आफू निर्वाचित भएमा सांसदका रूपमा पाउने पारिश्रमिकको ५० प्रतिशत रकम शिक्षा, स्वास्थ्य, अपांगता भएका व्यक्ति, विपन्न र असहाय वर्गको सहयोगमा खर्च गर्ने घोषणा गरेका छन्।

‘नेता शासक होइन, जनताको सेवक हुनुपर्छ’ भन्ने मान्यता राख्ने उनले व्यक्तिगत चुनावी प्रतिबद्धताहरू पनि अघि सारेका छन्।

महेन्द्र विन्देश्वरी क्याम्पसमा नियमित पठन-पाठन र गुणस्तरीय शिक्षाको सुनिश्चितता, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सुरु गर्न पहल, छिन्नमस्ता भगवती मन्दिरलाई मधेश प्रदेशकै दोस्रो ठूलो धार्मिक पर्यटकीय गन्तव्य बनाउने अनि मस्जिदहरूको स्तरोन्नति गर्ने र सामाजिक सद्भाव कायम राख्ने उनका प्रतिबद्धताहरू हुन्।

यसका अलावा राजविराजको पूर्णी पोखरीको सौन्दर्यकरण, ग्रामीण सडक सञ्जालको विस्तार, ढल निकासको व्यवस्थापन र पुलहरूको निर्माण पनि उनको चुनावी प्रतिबद्धताभित्र समेटिएका छन्। यसका अलावा स्वरोजगारमूलक र सीपमूलक तालिम सञ्चालन तथा साना उद्योगलाई प्रोत्साहन गर्ने उनको प्रतिबद्धता छ।

०००

भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो- पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो।

हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार–प्रसार सुरु भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब ‘कसरी रोकिन्छ र?’ भन्ने दृढता देखिन्छ।

जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनिका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरु गरेको हो।

मिसन पुस्तान्तरणको यसअघिका सामग्री:

माघ २८, २०८२ बुधबार ०८:००:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।