टी-२० विश्वकप : पाकिस्तानले अमेरिकालाई दियो १९१ रनको लक्ष्य

टी-२० विश्वकप : पाकिस्तानले अमेरिकालाई दियो १९१ रनको लक्ष्य

काठमाडौं : आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को खेलमा पाकिस्तानले अमेरिकालाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

श्रीलंकाको कोलोम्बोस्थित एसएससी मैदानमा मंगलबार भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको योगफल तयार पार्यो।

पाकिस्तानको इनिङ्समा ओपनर साहिबजादा फरहानले सर्वाधिक रन बनाए। उनले ४१ बलमा ६ चौका र ५ छक्काको मद्दतमा ७३ रन जोडे। उनलाई बाबर आजमले ३२ बलमा ४६ रन (४ चौका, १ छक्का) बनाउँदै साथ दिए।

मध्यक्रममा अन्य ब्याटर चल्न नसके पनि तल्लो क्रममा आएका शादाब खानले आक्रामक ब्याटिङ गरे। शादाबले मात्र १२ बलमा ४ चौका र १ छक्का सहित ३० रन जोडेपछि पाकिस्तान सम्मानजनक स्कोरमा पुग्यो। अर्का ओपनर सैम अयुबले १९ रनको योगदान दिए।

सुरुवातमा बलियो देखिएको पाकिस्तानलाई रोक्न अन्तिम ओभरहरूमा अमेरिकी बलरहरूले कसिलो बलिङ गरे। अमेरिकाका लागि श्याड्ली भान स्कल्कविकले ४ ओभरमा २५ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए। त्यस्तै, सौरभ नेत्रवाल्कर, मोहम्मद मोहसिन र हरमीत सिंहले १-१ विकेट हात पारे।

अन्तिम समयमा लगातार विकेट गुमाउँदा पाकिस्तानले दुई सय रनको आँकडा भने पार गर्न सकेन। अमेरिकाले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ।

माघ २७, २०८२ मंगलबार २१:२३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।