रामेछाप बस दुर्घटना अपडेट : मृत्यु भएका मध्ये १० जनाको पहिचान खुल्यो
रामेछाप : रामेछापस्थित तामाकाेशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ।
मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका-७ का ३८ वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी-४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी-६ का दीपेश बस्नेत र लिखु–६ की ४५ वर्षीया मानकुमारी बरुवाल रहेकाे मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिए।
यस्तै, सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका-८ का ६० वर्षीय मानबहादुर तामाङ रहेका मेडिकल सुपरिटेन्डेन्ट धामीले जानकारी दिए।
मृतक दुई जनाको सनाखत हुन बाँकी रहेको उनले बताए।
रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार उक्त दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका थिए। घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको भट्टले बताए। बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३-०१-००५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो।
माघ २७, २०८२ मंगलबार १७:३८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।