सिंहदरबारको ध्वाँसो अगाडि चुनावी गाडीको सेताम्मे चमक
काठमाडौं : देशको प्रशासनिक केन्द्र सिंहदरबार छिर्ने जो-कोहीको नजर अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रांगणदेखि गृह मन्त्रालय र पुरानो संसद् भवन अगाडिको खाली चौरमा ठोकिन्छ, जहाँ लहरै राखिएका छन्- सेता र टलक्क टल्कने नयाँ पिकअप गाडीहरू।
प्रत्येक गाडीको अगाडिपट्टि एउटा स्टिकर टाँसिएको छ, जसमा लेखिएको छ- 'नेपाल-भारत सहयोग'।
भदौ २४ गतेको 'जेनजी' आन्दोलनका क्रममा ठूलो भौतिक क्षति व्यहोरेको सिंहदरबार अगाडि लहरै राखिएका यी गाडीले भदौ २३ को आन्दोलनको राप र भदौ २४ को विध्वंस एकै पटक देखाइरहेको छ। भूकम्पबाट भत्किएको सिंहदरबार बल्लबल्ल मर्मत गरेर सेतो रंगमा चिटिक्क पारिएको थियो।
अहिले सिंहदरबारमा भदौ २४ को विध्वंसको ध्वाँसो देखिन्छ अनि त्यसकै अगाडि टिलिक्क टल्किएका सेता गाडी। गाडीका दृष्यले एकातिर फागुन २१ मा निर्वाचनमार्फत ट्रयाक बाहिर गएको संविधान लयमा फर्काउने आश देखाइरहेको छ भने ध्वाँसो भरिएको सिंहदरबारले अनिश्चय।

भारत सरकारले सन् २००८ देखि नै नेपालमा निर्वाचनका बेला सवारी साधन सहयोग गर्दै आएको छ। यी गाडी त्यसैको निरन्तरता हो। भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा फागुन २१ को निर्वाचनका लागि ६ सय ५० वटा सवारी साधन उपलब्ध गराउने छ र चरणबद्ध रूपमा उक्त सवारी साधन अहिले हस्तान्तरण गरिरहेको छ।

निर्वाचनसम्बन्धी सहयोगको पहिलो किस्ता स्वरूप माघ ६ गते ६० वटा गाडी गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमका गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गरिएको थियो। त्यसको केही दिनपछि, माघ १५ गते पुनः दोस्रो किस्ता अन्तर्गत २ सय ५० वटा डबल-क्याब पिकअप गाडीहरू हस्तान्तरण गरिए।
अर्थ मन्त्रालयमा दोस्रो किस्तामा गाडी हस्तान्तरण गर्न आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको उपस्थिति थियो। भारतीय दूतावासका कार्यवाहक नियोग प्रमुख डा. राकेश पाण्डेले यी सवारी साधनको साँचो नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए। हाल सिंहदरबारमा देखिने गाडीहरू सोही सहयोग बमोजिम विभिन्न चरणमा भित्रिएका हुन्।

यी सवारी साधनहरूको उपयोग निर्वाचन आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न मन्त्रालय र विभागहरूले निर्वाचनको प्रशासनिक तथा सुरक्षा व्यवस्थापनमा गर्नेछन्। भौगोलिक रूपमा विकट रहेका मतदान केन्द्रसम्म पुग्न र निर्वाचन सामग्री ओसारपसार गर्न यी 'डबल-क्याब' पिकअप गाडीहरू उपयोगी मानिन्छन्।

सन् २००८ यताका हरेक ठूला निर्वाचनमा भारतले सवारी साधन र अन्य प्राविधिक सामग्री सहयोग गर्दै आएको छ। तथ्याङ्क हेर्ने हो भने, हालसम्म भारतले नेपाललाई निर्वाचन प्रयोजनका लागि मात्रै करिब २४ सय सवारी साधन उपलब्ध गराइसकेको छ।

एकातिर आन्दोलनको राप सम्झाउने खण्डहर संरचना र अर्कोतिर फागुन २१ को चुनावी सरगर्मी संकेत गर्ने सवारी साधन- यही विरोधाभास दृश्यसहित अहिले सिंहदरबार विगतको सङ्घर्ष र नयाँ राजनीतिक सम्भावनाको बीचमा सन्तुलन खोज्दै उभिएको देखिन्छ।




माघ २७, २०८२ मंगलबार १८:०३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।