सीआईबी बनेर ६० लाख लुटपाट, हवलदारसहित चार पक्राउ

सीआईबी बनेर ६० लाख लुटपाट, हवलदारसहित चार पक्राउ

काठमाडौं : आफूलाई सीआईबी भएको दाबी गर्दै ६० लाख लुटपाट गरेको आरोपमा एक प्रहरी हवलदार सहित चार जना पक्राउ परेका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको हो।

लुटपाटमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हवलदार ३८ वर्षका कर्णबहादुर सुनार पनि पक्राउ परेका हुन्।

सुनारकाे समूहले माघ १४ गते बिलसहितको सुन सस्तोमा बेच्ने भन्दै व्यापारी विनोद लाम्गादेलाई कीर्तिपुरमा बोलाएर उनीसँग भएको ६० लाख लुटपाट गरेर फरार भएका थिए।

‘सस्तो दरमा सुन दिन्छौं’ भन्दै ६० लाख लुटपाट गरिएको प्रहरीले बताएको छ। सुन किन्न भनेर रकम लिएर आएपछि सीआईबीको प्रहरी भन्दै रकम लुटिएको प्रहरीको भनाइ छ।

 लुटपाटमा संलग्न काभ्रेका दीपक आले मगर, रसुवाका बिक्रम तामाङ र जीवन तामाङ यसअघि नै पक्राउ परिसकेकाे अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले जानकारी दिए।  उनीहरूको बयानका आधारमा प्रहरी हवल्दार सुनार पनि पक्राउ परेका हुन्। 

 पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

माघ २७, २०८२ मंगलबार १६:५६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।