सेयर बजारमा आज पनि सुधार भएन : १० अंकले घट्यो नेप्से

सेयर बजारमा आज पनि सुधार भएन : १० अंकले घट्यो नेप्से

काठमाडौं : साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार पनि घटेर बन्द भयो। मंगलबार नेप्से परिसूचक १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा पुग्यो।

सेन्सेटिभ इण्डेक्स १.२६, फ्लोट इण्डेक्स ०.८२ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले घट्यो। परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। 

मंगलबार १० अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार कित्ता सेयर ८९ हजार ८३६ पटक कारोबार हुँदा कुल कारोबार रकम ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँमा रोकियो।

कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य सर्वाधिक ६.३६ प्रतिशतले बढ्यो। त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले उक्लिएको छ भने आरबिबि फोकस ४० म्युचुअल फण्डको इकाई मूल्य करिब ४ प्रतिशतले बढ्यो। यता, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य भने सर्वाधिक ५.२४ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा मंगलबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ४५ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको साढे ४० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये मंगलबार २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढे। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक मंगलबार सर्वाधिक १.१५ प्रतिशतले घट्यो।

माघ २७, २०८२ मंगलबार १५:५१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।