टी-२० विश्वकप : नेदरल्याण्ड्सको पहिलो जित
काठमाडौं : टी-२० विश्वकपको १० औँ खेलमा नेदरल्याण्ड्सले नामिबियामाथि ७ विकेटको जित निकालेको छ। समूह 'ए' अन्तर्गतको प्रतिस्पर्धामा नेदरल्याण्ड्सले नामिबियाले दिएको १५७ रनको लक्ष्य १८ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
दिल्लीस्थित अरुण जेटली स्टेडियममा टस जितेर नेदरल्याण्ड्सले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।
नेदरल्याण्ड्सको जितमा बास डि लिडेले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनले ४८ बलमा ७२ रनको उत्कृष्ट इनिङ खेले। यस्तै, कप्तान स्कट एडवर्ड्स १८ रनमा अविजित रहँदा कोलिन एकरम्यानले ३२ र माइकल लेभिटले २८ रनको योगदान दिए।
यसअघि नामिबियाका लागि निकोल लोफ्टी-ईटनले ४२, जान फ्रिलिंकले ३० र जेजे स्मिटले १५ बलमा २२ रन जोडेका थिए। बलिङतर्फ नेदरल्याण्ड्सका लोगान भ्यान बिक र बास डि लिडेले समान २-२ विकेट लिए। आर्यन दत्त र फ्रेड क्लासेनले १-१ विकेट हात पारे भने विलेम माइबर्ग र रुबेन ट्रम्पलम्यान रन आउट भएका थिए।
यो जितसँगै नेदरल्याण्ड्स समूह 'ए' को अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। टोलीको दुई खेलबाट एक जितसहित २ अंक भएको छ। यस समूहमा भारत र पाकिस्तानको पनि समान २-२ अंक छ। नेट रन रेटका आधारमा भारत शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन्।
माघ २७, २०८२ मंगलबार १४:५३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।