जेफ्री एप्स्टिन काण्ड : अमेरिकामा शक्तिशालीलाई जोगाउने खेल हुँदा युरोपमा धमाधम अनुसन्धान सुरू
एजेन्सी : केही समयअघि अमेरिकी न्याय विभागका उप-न्यायाधिवक्ता टोड ब्लान्चले वाचा गरेका थिए- ‘हामी कसैलाई पनि जोगाउने छैनौं, न त डोनाल्ड ट्रम्पलाई नै।’
तर अहिले चर्चित यौन अपराधी जेफ्री एप्स्टिन काण्डसँग जोडिएका गोप्य फाइलहरू बाहिरिएपछि उक्त वाचामाथि ठूलो प्रश्न उठेको छ।
अमेरिकी संसदका सदस्यहरूले हालै एप्स्टिन काण्डसँग सम्बन्धित केही यस्ता फाइलहरू हेर्ने मौका पाए, जसमा धेरै ठाउँमा नामहरू कालो पोतिएका थिए।
नियमअनुसार पीडितहरूको गोपनीयता जोगाउन मात्र नाम मेटाउनुपर्ने हो। तर, सांसद जेमी रास्किनका अनुसार त्यहाँ धेरै यस्ता शक्तिशाली मानिसहरूको नाम मेटिएको छ, जो पीडित होइनन्।
सांसदहरू अचम्ममा परेका छन्- यदि उनीहरू पीडित होइनन् भने न्याय विभागले कसलाई र किन जोगाउन खोज्दैछ?
जेलमा रहेकी एप्स्टिनकी मुख्य सहयोगी घिस्लेन म्याक्सवेलले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्लिन चिट दिने खालको बयान दिने प्रलोभन देखाएकी छन्।
उनका वकिलले सार्वजनिक रूपमै भनेका छन्- ‘यदि राष्ट्रपति ट्रम्पले म्याक्सवेललाई आममाफी दिएर जेलमुक्त गरिदिने हो भने, उनले ट्रम्प र बिल क्लिन्टन दुवै यो काण्डमा निर्दोष रहेको बयान दिनेछिन्।’
यद्यपि ट्रम्प र क्लिन्टन दुवैले एप्स्टिनको अपराधबारे आफूलाई थाहा नभएको बताउँदै आएका छन्।
युरोपमा हलचल, अमेरिकामा मौनता
एप्स्टिन काण्डले युरोपका धेरै देशमा राजनीतिक भूकम्प ल्याएको छ।
बेलायतमा प्रधानमन्त्री कीयर स्टार्मर आफ्ना राजदूतको एप्स्टिनसँगको सम्बन्धका कारण विवादमा परेका छन्। बेलायती राजा चार्ल्स स्वयम्ले आफ्ना भाइ प्रिन्स एण्ड्र्युमाथिको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने बताएका छन्।
नर्वे र पोल्याण्डका उच्च पदस्थ अधिकारी र कूटनीतिज्ञहरूमाथि अनुसन्धान सुरू भएको छ। तर अमेरिकामा भने अवस्था फरक छ। यहाँ न्याय विभाग ट्रम्प निकटका व्यक्तिहरूले चलाइरहेका छन्।
सांसदहरूका अनुसार अमेरिकामा शक्तिशाली व्यक्तिहरूलाई कानुनी कठघरामा ल्याउनुको साटो उनीहरूको प्रतिष्ठा जोगाउन बढी जोड दिइएको देखिन्छ।
युरोपमा स्वतन्त्र निकायहरूले अनुसन्धान गरिरहेका छन्, तर अमेरिकामा राजनीति हावी भएको देखिन्छ।
विश्लेषकहरू भन्छन्, ‘सायद १० वर्षदेखि ट्रम्प युगका विभिन्न काण्डहरू सुन्दा-सुन्दा अमेरिकी जनता यस्ता समाचारप्रति अभ्यस्त भइसकेका छन्। अथवा, जहाँ राजनीतिमा पैसाको ठूलो प्रभाव हुन्छ, त्यहाँ एप्स्टिन जस्ता अर्बपतिले शक्तिशाली नेताहरूलाई प्रभावमा पार्नु कुनै नयाँ कुरा नमानिएको पनि हुन सक्छ।’
यो सबै शक्ति र राजनीतिको खिचातानीमा ती बालिकाहरूमाथि भने पीडामाथि पीडा दिने काम भएको छ। शक्तिशाली अपराधीहरूले उन्मुक्ति पाउँदा पीडितहरूको घाउमा झन् नुन–चुक थपिएको छ।
पीडितमध्येकी एक लिज स्टेन भन्छिन्, ‘हामीलाई सत्य के हो थाहा छ। जब शक्तिशाली मानिसहरू सत्य लुकाउन खोज्छन्, हामी त्यसलाई नजिकबाट नियालिरहेका हुन्छौं।’
माघ २७, २०८२ मंगलबार १३:००:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।