टी-२० विश्वकप २०२६ : भारतसँग खेल्न पाकिस्तान सहमत, बङ्गलादेशलाई क्षतिपूर्ति पनि
एजेन्सी : जारी टी-२० विश्वकप अन्तर्गत समूह चरणको बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल अनिश्चितताका बाबजुद निर्धारित मितिमै हुने भएको छ।
१० दिन लामो गतिरोध अन्त्य गर्दै पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले फेब्रुअरी १५ मा कोलोम्बोमा हुने उक्त ‘हाइभोल्टेज’ खेल सञ्चालन हुने पुष्टि गरेका छन्।
पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने अडान त्यागेसँगै प्रतियोगिताको व्यावसायिक रूपमा सबैभन्दा महत्त्वपूर्ण मानिएको यो खेल अब तोकिएकै समयमा हुनेछ।
पाकिस्तानले सुरुमा भारतसँगको खेल बहिष्कार गर्नुको मुख्य कारण बङ्गलादेशलाई विश्वकपबाट निष्कासन गरिनु थियो। भारतमा गएर खेल्न बङ्गलादेश सरकारले अनुमति नदिएपछि आईसीसीले बङ्गलादेशलाई हटाएर स्कटल्यान्डलाई प्रतियोगितामा समावेश गरेको थियो।
यसलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले आईसीसीको दोहोरो मापदण्ड र अन्याय भन्दै विरोध जनाएका थिए। यद्यपि, आईसीसी, पीसीबी र बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) बीचको सघन वार्तापछि सहमति जुटेको छ।
सहमति अनुसार विश्वकप खेल्न भारत जान अस्वीकार गरेको कारण बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) माथि आईसीसीले कुनै आर्थिक, खेलकुद वा प्रशासनिक प्रतिबन्ध लगाउने छैन भने बङ्गलादेशलाई क्षतिपूर्ति स्वरूप सन् २०३१ को एकदिवसीय विश्वकप भन्दा अगाडि अर्को एउटा आईसीसी प्रतियोगिता आयोजना गर्ने अधिकार दिइनेछ।
पाकिस्तान सरकारद्वारा जारी विज्ञप्तिमा क्रिकेटको भावना जोगाउन र मित्रराष्ट्रहरूको अनुरोधमा भारतसँग खेल्ने निर्णय गरिएको उल्लेख छ।
श्रीलंका र युएई लगायतका आईसीसी सदस्य राष्ट्रहरूले खेल बहिष्कार गर्दा अन्य देशहरूमा पर्ने आर्थिक असरबारे सचेत गराउँदै पाकिस्तानलाई लचिलो बन्न आग्रह गरेका थिए। यसका लागि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले श्रीलंकाका राष्ट्रपति कुमारा डिसानायकसँग टेलिफोन वार्ता समेत गरेका थिए।
लाहोर बैठक निर्णायक
आइतबार लाहोरमा पीसीबी अध्यक्ष मोहसिन नकवी, बीसीबी अध्यक्ष अमिनुल इस्लाम र आईसीसीका निर्देशक इमरान ख्वाजाबीच भएको बैठकले सहमतिको आधार तयार गरेको थियो।
सोमबार साँझ आईसीसीले बङ्गलादेशमाथि कारबाही नहुने र उनीहरूलाई थप अवसर दिइने घोषणा गरेलगत्तै पाकिस्तानले पनि भारतसँग खेल्ने औपचारिक घोषणा गरेको हो।
आईसीसीका सीईओ संजोग गुप्ताले बङ्गलादेशको अनुपस्थिति दुःखद भए पनि भविष्यमा बङ्गलादेशको क्रिकेट विकासमा आईसीसी प्रतिबद्ध रहने बताएका छन्।
यता बङ्गलादेश क्रिकेट बोर्डले आफ्नो समर्थन गरेकोमा पाकिस्तानलाई धन्यवाद दिँदै भारतसँगको खेलमा सहभागी हुन आग्रह गरेको थियो।
यो सहमतिसँगै अब फेब्रुअरी १५ मा कोलोम्बोमा हुने भारत र पाकिस्तानबीचको रोमाञ्चक भिडन्त हेर्न विश्वभरका क्रिकेट समर्थकहरूले पाउने भएका छन्।
माघ २७, २०८२ मंगलबार ०७:५४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।