मौसम पूर्वानुमान : उच्च पहाडी भेगमा हिमपातको सम्भावना, तराई र उपत्यकामा प्रदूषणको जोखिम

मौसम पूर्वानुमान : उच्च पहाडी भेगमा हिमपातको सम्भावना, तराई र उपत्यकामा प्रदूषणको जोखिम

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण तराईका भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

उच्च पहाडी र हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी भूभागमा आंशिक बदली रही तराईको मौसम मुख्यतया सफा रहनेछ।

विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो कायमै रहनेछ। देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने अनुमान छ।

राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च लेकाली तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

तत्काल ठूलो वर्षाको सम्भावना नरहेको र तराई तथा उपत्यकाहरूमा वायुको प्रदूषण (तुँवालो) कायमै रहने भएकाले महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

साथै, तराईका भूभागमा मध्याह्नसम्म लाग्ने हुस्सु/कुहिरोका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै प्रदूषण र चिसोबाट सुरक्षित रहन सर्वसाधारण तथा सरोकारवाला निकायलाई अनुरोध गरिएको छ।

माघ २७, २०८२ मंगलबार ०७:१४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।