एनआइसी एसिया बैंकको रणनीति परिवर्तन : 'अग्रेसिभ' भन्दा 'सस्टेनेबल' बैंकिङमा जोड
काठमाडौं : नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समय देखिएका चुनौतीहरूकाबीच एनआइसी एसिया बैंकले व्यावसायिक रणनीतिमा फेरबदल गर्दै 'आक्रामक' भन्दा 'दिगो र सुरक्षित' बनाउने कार्ययोजना बनाएको बताएको छ।
बैंकिङ क्षेत्रले पछिल्लो दुई–तीन वर्षदेखि भोगिरहेको दबाबलाई अवसरका रूपमा लिँदै बैंकले आफ्नो आन्तरिक प्रणाली र लगानीको मोडलमा सुधार थालेको बताएको हो।
बैंकले अब रिटेल र एसएमई कर्जामा मात्र सीमित नभई कर्पोरेट र ऊर्जा क्षेत्रमा लगानी बढाउने तयारी गरेको जानकारी दिएको छ। यसले बैंकको जोखिमलाई विभिन्न क्षेत्रमा बाँडफाँड गर्न मद्दत पुग्ने र भविष्यमा आउन सक्ने वित्तीय संकटबाट बैंकलाई सुरक्षित राख्ने बताएको छ।
कोभिड–१९ पछि डिजिटल कारोबारमा भएको वृद्धिलाई ध्यानमा राख्दै बैंकले 'डिजिटल फस्ट' रणनीति अपनाउँदै अबको भविष्य आर्टिफिसियल इन्टेलिजेन्समा आधारित बैंकिङमै रहेको निष्कर्ष निकालेको छ। आन्तरिक काम र ग्राहक सेवालाई पूर्ण रूपमा डिजिटल बनाउँदै सञ्चालन खर्च घटाउने लक्ष्य राखेको बैंकले जानकारी दिएको छ।
४० लाख ग्राहकको सुरक्षा र सम्बन्ध
करिब ४० लाख ग्राहक आफ्नो मुख्य सम्पत्ति रहेको जनाउँदै बैंकले उनीहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन ग्राहकको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको र सेवा प्रवाहमा आत्मीयता र पारदर्शिता ल्याउने बैंकको दाबी छ।
बैंकले आफ्नो लगानी गर्ने क्षमता बढाउन पुँजी व्यवस्थापनमा नयाँ रणनीति अपनाएको र यसका लागि हकप्रद सेयर र नन्–कम्युलेटिभ प्रिफरेन्स सेयर मार्फत पुँजी वृद्धि गरी व्यवसायलाई सहज बनाउने योजना रहेको जानकारी दिएको छ।
बैंकमा कार्यरत ३ हजार २ सय भन्दा बढी कर्मचारीहरूलाई एउटै लक्ष्यमा डोऱ्याउँदै आन्तरिक कार्य वातावरणलाई स्वच्छ र उत्साहजनक बनाउने र यसले बैंकको कार्यक्षमतामा उल्लेख्य वृद्धि हुने बैंक व्यवस्थापकको अपेक्षा देखिन्छ।
डिजिटल रूपान्तरण र एआईको प्रयोगले शाखामा हुने भौतिक चाप कम गर्ने र यसबाट बचत हुने समय र स्रोतलाई बैंकको उत्पादकत्व बढाउन प्रयोग गरिने जानकारी दिएको छ।
माघ २६, २०८२ सोमबार १९:४७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।