दुई वर्षको ‘गुमनाम’पछि ‘श्री बुकुरो’ मार्फत फर्किँदै आशिर्वाद

दुई वर्षको ‘गुमनाम’पछि ‘श्री बुकुरो’ मार्फत फर्किँदै आशिर्वाद

काठमाडौं : नेपाली चलचित्र उद्योगमा कतिपय कलाकारहरू डेब्यु फिल्मपछि एकाएक हराउने प्रवृत्ति नयाँ होइन। फिल्मले औसत चर्चा पाए पनि उनीहरू अर्को प्रोजेक्टमा देखिन लामो समय लाग्ने गरेको देखिन्छ। अभिनेता आशिर्वाद क्षेत्रीको हकमा पनि यस्तै देखियो।

दुई वर्षअघि 'नाइँ नभन्नु ल ६' फिल्ममार्फत नेपाली रजतपटमा प्रवेश गरेका आशिर्वाद फिल्म रिलिजपश्चात् लगभग गुमनाम छन्। न उनी नयाँ फिल्ममा अनुबन्धित भएको खबर सार्वजनिक भयो, न त उनको चर्चा नै छ। सुरुआती समयमा उनी एक हदसम्म दर्शकको नोटिस परे, तर लामो समयसम्म सार्वजनिक उपस्थिति नदेखिँदा उनीप्रतिको आकर्षण घटेको छ।

यद्यपि दुई वर्षको अन्तरालपछि भने आशिर्वाद अभिनयमा फर्किँदै छन्। उनी अभिनित फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ गते अर्थात् आगामी शुक्रबारबाट देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ। सोमबार फिल्मको प्रेसमिटमा आशिर्वादले कथावस्तु छनोटमा ध्यान दिँदा आफूलाई चलचित्रमा फर्किन समय लागेको बताए। 

अब भने आफू निरन्तर अभिनयमा सक्रिय रहने उनको भनाइ छ। आशिर्वाद भन्छन्, ‘पहिला फिल्ममा काम गर्दा स्क्रिप्टमा अलिक चुँजी थिए। सोचेअनुसारको भइरहेको थिएन। अब तपाईंहरुलाई दिक्कै लाग्ने फिल्म आउँछन्।’ फिल्ममा आशीर्वादले अभिनेत्री निकिता आचार्यसँग स्क्रिन सेयर गरेका छन्।

माघ २६, २०८२ सोमबार १६:१५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।