टी-२० विश्वकप : पाकिस्तानकाे विजयी सुरुवात
काठकाडौँ : आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ।
शनिबार श्रीलंकाको कोलम्बोमा भएको खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा पूरा गर्दै जित निकालेको हो।
पाकिस्तानका ओपनर साहिबजादा फरहानले सर्वाधिक ४७ रनको योगदान दिए। उनले ३१ बलमा चार चौका र दुई छक्का प्रहार गरे। अर्का ओपनर सैम अयुबले १३ बलमा चार चौका र एक छक्कासहित २४ रन जोडे। बाबर आजमले १५ र कप्तान सलमान अली आघाले १२ रन बनाए।
११औँ ओभरको समाप्तिपछि लगातार विकेट गुमाउँदा पाकिस्तान ११४–७ को कठिन स्थितिमा आइपुगेको थियो।
त्यसपछि ब्याटिङमा आएका फहिम अस्रफले आक्रामक ब्याटिङ गर्दै ११ बलमा दुई चौका र तीन छक्कासहित २९ रन बनाए। फहिमसँगै साहिन साह अफ्रिदी पाँच रनमा अविजित रहे।
नेदरल्यान्ड्सका आर्यन दत्त र पाउल भान मिकेरेनले समान दुई विकेट लिए। लोगन भान विक, काइल क्लेइन र रोइलोफ भान डेर मेर्वेले एकरएक विकेट लिए।
टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो।
नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवर्ड्सले सर्वाधिक ३७ रनको योगदान दिए। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
अन्य ब्याटरहरूमा बास डी लिडेले २५ बलमा ३० रन र प्रारम्भिक ब्याटर माइकल लेभिटले १५ बलमा २४ रन जोडे। त्यस्तै कोलिन एकरम्यानले २० रन बनाए।
पाकिस्तानका लागि सलमान मिर्जाले घातक बलिङ गर्दै ३.५ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। स्पिनर अबरार अहमदले ४ ओभरमा २३ रन दिएर २ विकेट लिए भने पार्ट-टाइम बलर साइम अयुबले मात्र १ ओभर बलिङ गर्दै ७ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए।
मोहम्मद नवाजले पनि २ विकेट हात पारे भने तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको नाममा १ विकेट रह्यो। शादाब खानले ४ ओभरमा २६ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्।
प्रतियोगितामा पाकिस्तान र नेदरल्यान्ड्स समूह ‘ए’मा छन्। यो समूहमा यी दुई टिमसँगै नामिबिया, अमेरिका र भारत छन्। आजदेखि सुरु प्रतियोगितामा कुल २० टिमले प्रतिस्पर्धा गर्दै छन्।
माघ २४, २०८२ शनिबार १६:००:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।