भुटानी शरणार्थी प्रकरणको ‘दाग’ : बालकृष्णको संसदीय राजनीतिमा ‘ब्रेक’ अनि फेरिएको राजनीतिक ‘कोर्स’
बुटवल : नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको राजनीतिक जीवनमा नक्कली भुटानी शरणार्थी प्रकरण ‘ग्रहण’ बनेर आयो। कुनै समय रुपन्देहीको राजनीतिमा एकछत्र प्रभाव जमाएका र केन्द्रमा समेत निर्णायक हैसियत राख्ने खाँण, यही प्रकरणका कारण आसन्न निर्वाचनको मैदानबाट बाहिरिए।
आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा उनी नेपाली कांग्रेसको तर्फबाट निर्विकल्प उम्मेदवार बन्न सक्थे। सो क्षेत्रको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले उनको नाम पहिलो नम्बरमा राखेर जिल्ला कार्यसमितिमा सिफारिस समेत गरेको थियो।
तर, अदालतमा विचाराधीन मुद्दा र फेरिएको राजनीतिक परिस्थितिका कारण अन्ततः खाँणले त्यो अवसर पाएनन्। बरु कांग्रेसले क्षेत्रीय सभापति सुशील गुरुङलाई पार्टीबाट उम्मेदवार बनाए।
पूर्व गृहमन्त्री समेत रहेका खाँणको संसदीय राजनीतिमा ‘ब्रेक’ लाग्नुको मुख्य कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नताको आरोप हो।
२०८० वैशाख २७ गते यो प्रकरणमा मुछिएपछि उनी पक्राउ परेका थिए। तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँगको ‘रकम लेनदेन’ र शंकास्पद संवादका आधारमा प्रहरीले उनलाई हिरासतमा लिएको थियो।
यो घटनाले राष्ट्रिय राजनीतिमा ठूलो तरङ्ग ल्यायो। करिब सात महिना लामो कारागार बसाइपछि २०८० मंसिर २८ गते उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।
यद्यपि, सोही प्रकरणमा मुछिएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र पूर्वसचिव पाण्डे लगायतका व्यक्तिहरू अझै थुनामा छन्।
खाँण धरौटीमा रिहा भए पनि महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्नु ‘राजनीतिक संरक्षण’ हो। यदि मुद्दामा राजनीतिक हस्तक्षेप नभएको भए खाँणको अवस्था अझै जटिल हुन सक्थ्यो।
तर, कानुनी रूपमा रिहा भए पनि नैतिक र राजनीतिक रूपमा उनीमाथि लागेको ‘दाग’ ले उनलाई खुलेर राजनीति गर्न अवरोध सिर्जना गरेको छ। शरणार्थी प्रकरणसँगै उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा पनि विचाराधीन रहेकाले उनी आसन्न निर्वाचनमा उम्मेदवार बन्न हच्किएका हुन्।
खस्कँदो प्रभाव र फेरिएको शक्ति समीकरण
साढे तीन दशकदेखि रुपन्देहीलाई आधार बनाएर राजनीति गरिरहेका खाँणको शक्ति र प्रभाव यतिबेला पार्टी भित्र र बाहिर कमजोर बन्दै गएको छ।
विशेषतः नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि गगन थापा पार्टी सभापति बनेसँगै देउवा गुट रक्षात्मक अवस्थामा पुगेको छ। यसले गर्दा जिल्लामा पनि खाँणको पकड पहिलेको जस्तो दह्रो देखिँदैन।
विगतमा उनी पार्टी सभापति शेरबहादुर देउवाको ‘कोर टिम’ का प्रमुख सदस्य थिए।
नेपाल विद्यार्थी संघ र तरुण दलजस्ता भ्रातृ संगठनको नेतृत्व गर्दै आएका खाँणले देशभर आफ्नो सञ्जाल विस्तार गरेका थिए। कुनै बेला उनलाई देउवाको उत्तराधिकारीकै रूपमा समेत हेरिन्थ्यो। पार्टी विभाजनको बेला होस् वा आन्तरिक संघर्ष, उनी सधैं देउवाको विश्वासपात्र रहे।
गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइरालासम्म सन्तुलित सम्बन्ध राख्न सक्ने ‘चतुर खेलाडी’ का रूपमा उनी चिनिन्थे। तर, अहिले उनी पार्टीभित्र एक प्रकारले ‘गुमनाम’ जस्तै बनेका छन् र कुनै निर्णायक कार्यकारी पदमा छैनन्।
राजनीतिक आरोह-अवरोह
खाँणको संसदीय यात्रा २०४८ सालबाट सुरु भएको हो। २०४८ को आम निर्वाचनमा रुपन्देही-३ बाट निर्वाचित भएर उनी राष्ट्रिय राजनीतिमा उदाएका थिए। त्यसपछि २०५१ मा पराजित भए पनि २०६४ र २०७० को संविधानसभा निर्वाचनमा उनले जित हासिल गरे।
२०७४ सालमा समानुपातिक सांसद बनेका उनी २०७९ को निर्वाचनमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता स्व. दीपक बोहोरासँग पराजित हुन पुगे।
२०७९ को निर्वाचनमा आफू पराजित भए पनि उनले पत्नी मञ्जु खाँणलाई समानुपातिक कोटाबाट सांसद बनाएपछि पार्टीभित्र परिवारवादको आरोप पनि खेप्नुपरेको थियो। अहिले उनी स्वयं उम्मेदवार नभए पनि उनका भाइ रामकृष्ण खाँणको राजनीतिक सक्रियताले खाँण परिवारको विरासत जोगाउने प्रयास भइरहेको देखिन्छ।
कतिपयले रुपन्देही जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख समेत रहेका रामकृष्णलाई बालकृष्णको राजनीतिक उत्तराधिकारीका रूपमा समेत हेर्न थालेका छन्।
के सकिएको हो त राजनीतिक करिअर?
विवादास्पद छवि र अदालतमा विचाराधीन मुद्दाका कारण खाँणको राजनीतिक भविष्यमा प्रश्नचिन्ह खडा भएको छ। यद्यपि, उनी निकट नेताहरू भने खाँण राजनीतिबाट पलायन नभएको दाबी गर्छन्।
कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरि अर्यालका अनुसार, उम्मेदवार नबन्दैमा खाँणले विश्राम लिएको भन्न मिल्दैन। अर्याल भन्छन्, ‘आफ्नो र पार्टीको विशेष परिस्थितिका कारण उहाँ उम्मेदवार हुन नचाहनुभएको हो, तर उहाँ चुनावी अभियानमा सक्रिय हुनुहुन्छ।’
टिकट वितरणमा हालीमुहाली गर्ने अवस्थाबाट अहिले आफैं टिकट लिन नसक्ने अवस्थामा आइपुग्नु खाँणका लागि ठूलो धक्का हो।
माघ २४, २०८२ शनिबार ०८:२०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।