पुरानो गुन सम्झाउँदै पाकिस्तानलाई श्रीलङ्काको आग्रह- "भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्नुहोस्"
एजेन्सी : श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२० विश्वकप खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेको छ।
श्रीलङ्का क्रिकेटका प्रमुख कार्यकारी अधिकृत एस्ले डि सिल्भाले शुक्रबार प्राप्त रिपोर्टका आधारमा पाकिस्तानलाई निर्णय पुनः सोच्न अनुरोध गरिएको जानकारी दिए। उनका अनुसार बहिष्कार अगाडि बढेमा यसले विभिन्न पक्षलाई असर पार्नेछ, किनकि फेब्रुअरी १५ मा हुने खेलका लागि सुरक्षा व्यवस्था, होटल बुकिङ र टिकट बिक्रीसहित सम्पूर्ण अन्तिम तयारी पूरा भइसकेको छ।
डि सिल्भाले श्रीलङ्का क्रिकेटले पाकिस्तान क्रिकेट बोर्डका आफ्ना समकक्षीहरूलाई दुई देशबीचको लामो र बलियो क्रिकेट सम्बन्धको आधारमा पत्र पठाएको बताए। यद्यपि, उनले उक्त पत्रको विस्तृत विवरण सार्वजनिक गर्न चाहेनन्।
श्रीलङ्का सन् २००९ मा लाहोरमा श्रीलङ्का टोलीमाथि भएको आतङ्कवादी आक्रमणपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग परेको पाकिस्तान भ्रमण गर्ने पहिलो राष्ट्रिय टोली बनेको थियो। सो आक्रमणपछि पाकिस्तानमा लामो समयसम्म अन्तर्राष्ट्रिय क्रिकेट स्थगित भएको थियो।
यसपालि श्रीलङ्का र भारतले सह-आयोजना गरिरहेको टी-२० विश्वकप पाकिस्तान सरकारको निर्णयका कारण विवादमा परेको छ। पाकिस्तान सरकारले यस हप्ताको सुरुमा आफ्नो टोली भारतसँग खेल्न मैदान नउत्रने घोषणा गरेपछि बहिष्कारको स्थिति उत्पन्न भएको हो।
पछि पाकिस्तान सरकारले यो निर्णय बङ्गलादेशसँगको एकताका रूपमा लिइएको स्पष्ट गरेको छ। सुरक्षा चिन्ताको कारण देखाउँदै आफ्ना खेलहरू भारतबाट श्रीलङ्कामा सार्न माग गरेपछि बङ्गलादेश टोलीलाई प्रतियोगिताबाट हटाइएको थियो र त्यसको सट्टा स्कटल्यान्डलाई सहभागी गराइएको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले स्वतन्त्र मूल्याङ्कनपछि भारतमा बङ्गलादेश टोलीका लागि कुनै सुरक्षा जोखिम नभेटिएको र खेल स्थानान्तरणको माग ढिलो भएको जनाएको छ।
हालैका प्रतियोगिताहरूमा भारत र पाकिस्तानलाई तटस्थ स्थलमा खेल्न अनुमति दिइएको उदाहरण प्रस्तुत गर्दै पाकिस्तानले आइसिसीको निर्णय असङ्गत भएको आरोप लगाएको छ।
भारत र पाकिस्तानबीच दशकौंदेखि सैन्य र कूटनीतिक तनाव रहँदै आएको छ, जसको असर क्रिकेटमा पनि देखिँदै आएको छ। क्रिकेट दुवै देशमा करोडौं मानिसले अत्यन्त चासोका साथ पछ्याउने खेल हो।
यसैबीच, सन् २०२२ मा गम्भीर आर्थिक सङ्कट भोगेको श्रीलङ्का हाल अन्तर्राष्ट्रिय मुद्रा कोषको पुनःउत्थान कार्यक्रमअन्तर्गत अघि बढिरहेको छ। पर्यटन श्रीलङ्काको प्रमुख आर्थिक आधार भएकाले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितालाई आर्थिक रूपमा पनि महत्त्वपूर्ण मानिएको छ।
माघ २३, २०८२ शुक्रबार १९:४६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।