नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
काठमाडौं : नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन्। प्रधानमन्त्री सुशीला कार्कीले डंगोललाई उक्त जिम्मेवारी तोकेकी हुन्।
यसअघि उनी प्रमुख प्राविधिक अधिकृत (सीटीओ) का रूपमा कार्यरत थिइन्। बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा इन्जिनियरिङ (बीई) गरेकी डंगोलको नेपाल टेलिकममा लामो व्यावसायिक अनुभव छ।
उनी २०५१ जेठ १ गते इन्जिनियर पदबाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानको सेवामा प्रवेश गरेकी थिइन्। २०५२ सालमा स्थायी नियुक्ति पाएकी डंगोलले २०८० जेठ ३२ गतेदेखि नायव प्रबन्ध निर्देशकका रूपमा काम गरिसकेकी छन्।
तीन दशक लामो करियरमा उनले प्रादेशिक निर्देशनालय विराटनगर र काठमाडौंको निर्देशकको जिम्मेवारी सम्हालिसकेकी छन्। साथै, उनले वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयमा पनि निर्देशकको जिम्मेवारी पूरा गरिसेकी छन्।
पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले कम्पनीलाई थप प्रविधिमैत्री र ग्राहक-केन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरिन्। सरकारको प्राथमिकता र ग्राहकको चाहनाबमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने उनले बताइन्।
कम्पनीलाई आर्थिकरूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाइने उनले बताइन्। उनले स्पष्ट दृष्टिकोणका साथ आत्मविश्वास र साझा उद्देश्य प्राप्तिका लागि एकजुट भएर अघि बढ्न कर्मचारीहरूलाई निर्देशन दिइन्।
माघ २३, २०८२ शुक्रबार १७:५१:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।