कास्कीमा ७७ थान निजी हतियार संकलन

कास्कीमा ७७ थान निजी हतियार संकलन

गण्डकी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी कास्कीमा ७७ जनाले आफ्ना इजाजतप्राप्त निजी हातहतियार जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन्।

स्थानीय प्रशासनले माघ २० गतेभित्र हतियार बुझाउन जारी गरेको सार्वजनिक सूचनाका आधारमा ती हतियार प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले हतियार धनीहरूलाई हतियार बुझाउन आग्रह गरिएको थियो।

सूचनाको अवज्ञा गरी हतियार नबुझाउनेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने सहायक प्रजिअ बरालले बताए।

‘विगतका प्रदर्शनका क्रममा लुटिएका हतियारमध्ये अधिकांश फिर्ता भइसकेका छन् भने व्यक्तिले अनुमति लिएर राखेका हतियार पनि बुझाइएका छन्,’ उनले भने, ‘सुरक्षाका दृष्टिले कास्कीमा कुनै जोखिम छैन, सुरक्षा व्यवस्था मजबुत छ।’

प्रशासनले बुझाइएका हतियारको सुरक्षित अभिलेख राखिएको र निर्वाचन सम्पन्न भएपछि आगामी चैत २० गतेपछि सम्बन्धित धनीलाई नै फिर्ता गरिने जनाएको छ।

निर्वाचनलाई लक्षित गरी जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायले विशेष कार्ययोजना लागू गरेका छन्।

सहायक प्रजिअ बरालका अनुसार निर्वाचन सुरक्षार्थ कास्कीमा ९५७ जना नेपाल प्रहरी र २ हजार ८०० निर्वाचन प्रहरी परिचालन गरिनेछ।

एकीकृत सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री सुरक्षा घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी रहनेछन्। दोस्रो घेरामा सशस्त्र प्रहरी बल र बाहिरी घेरामा नेपाली सेना परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ।

तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा १५३ मतदानस्थल रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार कास्कीमा गण्डकी प्रदेशकै सबैभन्दा बढी ३ लाख ८ हजार ५७२ मतदाता रहेका छन्।

माघ २३, २०८२ शुक्रबार १३:३६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।