इंग्ल्याण्डका टेस्ट कप्तान बेन स्टोक्सको अनुहारमा चोट, बलले लागेर आँखामा निलडाम

इंग्ल्याण्डका टेस्ट कप्तान बेन स्टोक्सको अनुहारमा चोट, बलले लागेर आँखामा निलडाम

एजेन्सी : इंग्ल्याण्डको टेस्ट क्रिकेट टोलीका कप्तान बेन स्टोक्सको अनुहारमा गहिरो चोट लागेको छ। एउटा बलले गालामा लाग्दा उनको एउटा आँखा नराम्ररी सुन्निएको छ र निलडाम बसेको छ।

स्टोक्सले बिहीबार आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत चोटबारे जानकारी दिएका हुन्। उनले आफ्नो अनुहारको फोटो राख्दै ठट्यौली पारामा लेखेका छन्, ‘तपाईंले मेरो अनुहार होइन, त्यो बलको हालत चाहिँ हेर्नुपर्छ।’

प्राप्त जानकारी अनुसार स्टोक्सलाई यो चोट ब्याटिङ वा बलिङ गर्दा लागेको होइन। उनी नेट्सको छेउमा उभिरहेका बेला अचानक बलले लागेको बताइएको छ।

स्टोक्स गएको महिना अष्ट्रेलियामा भएको एसेज सिरिजको पाँचौं टेस्टका क्रममा घाइते भएका थिए। त्यतिबेला उनको तल्लो पेट र तिघ्राको जोर्नीमा चोट लागेको थियो। उनी अहिले त्यसैको उपचारको क्रममा छन्।

उनी आफ्नो उपचार र रिकभरी प्रक्रियालाई अघि बढाउन यसै महिनाको अन्त्यतिर अबु धाबी जाने तयारीमा छन्। त्यहाँ उनले एन्ड्रिउ फ्लिन्टफको प्रशिक्षणमा रहेको इंग्ल्याण्ड लायन्स टोलीसँग अनौपचारिक प्रशिक्षकको भूमिकामा समय बिताउनेछन्।

यसै साताबाट सुरु हुने टी-२० विश्वकप क्रिकेटमा स्टोक्स सहभागी हुने छैनन्। उनले सन् २०२३ को एकदिवसीय विश्वकपपछि इंग्ल्याण्डका लागि ह्वाइट बल क्रिकेट खेलेका छैनन्।

स्टोक्सले आगामी जुन महिनामा न्युजिल्याण्डविरुद्ध हुने घरेलु टेस्ट सिरिजमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्ने सम्भावना छ। त्यसअघि उनले काउन्टी च्याम्पियनसिपमा डरहमबाट केही खेल खेल्न सक्नेछन्।

हालै सम्पन्न एसेज सिरिजमा अष्ट्रेलियासँग ४-१ को हार व्यहोरे पनि स्टोक्सले टेस्ट टोलीको कप्तानका रूपमा निरन्तरता दिने इच्छा व्यक्त गरेका छन्।

उनले मुख्य प्रशिक्षक ब्रेन्डन म्याकुलमलाई पनि पूर्ण समर्थन रहेको बताउँदै भनेका छन्, ‘मलाई म्याकुलमसँग काम गर्न असाध्यै मन पर्छ, उनी निकै राम्रा प्रशिक्षक हुन्।’

माघ २३, २०८२ शुक्रबार ०९:०५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।