मतपत्र छपाइको अनुगमनपछि प्रधानमन्त्रीको सन्देश- ‘एकै चरणमा निर्वाचन हुन्छ, ढुक्क हुनुस्’
भक्तपुर : प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तिपूर्ण रूपमा एकैसाथ एकै चरणमा निर्वाचन सम्पन्न हुने बताएकी छन्।
भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्यको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै पनि जिल्लामा दोस्रो चरणमा मतदान नहुने बताइन्।
“मतपत्र छपाइ गरेको हरेर मलाई निकै उत्साह जागेर आयो, मतपत्र हेर्ने काम भयो, त्यो देखेर हामीलाई लाग्यो, निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ। प्रेसका कर्मचारीहरूले एकदमै राम्रो काम गर्नु भएको रहेछ,” कार्कीले भनिन्।
निर्वाचनको चार खम्बामध्ये दुई खम्बा निर्वाचन आयोग रहेको उल्लेख गर्दै उनले देशभर निर्वाचनको माहोल बनेको बताइन्। कार्कीले भनिन्, “तपाईंहरु निश्चिन्त मान्नुस्, चुनाव आयो, फरक पर्दैन, चुनाव एउटै र एकैदिनमा हुन्छ, दुई चोटि हुने वाला कहीँ छैन, एकै दिनमा हुन्छ, कहीँ कतै केही हुनेवाला छैन, तोकिएकै मितिमा चुनाव हुन्छ।”
निर्वाचनको दिन फागुन २१ गते मौसम अनुकूल हुने विश्वास व्यक्त गर्दै उनले सबै तिर राम्रो भएर आएको बताइन्। हामी सबैले मतदान गर्न पाउँछौं भन्दै उनले मतदानको सबै नतिजा आएपछि नयाँ सरकार बन्ने र आफूहरू आफ्नो घर फर्कने बताइन्।
“अब राम्रो हुन्छ, हामी सबैले मतदान गर्न पाउँछौं, त्यसको परिणाम आउँछ, त्यसपछि सरकार बन्छ र हामी थपक्क सरकार हस्तान्तरण गर्छौँ र आ-आफ्ना घरतिर जान्छौं,” कार्कीले भनिन्।
माघ २२, २०८२ बिहीबार २०:२७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।