जेनजी आन्दोलनमा सिंहदरबार जलाउन संलग्न रहेको आरोपमा चितवनका महेन्द्र पक्राउ
काठमाडौं : जेनजी आन्दोलनको दोस्रो दिन सिंहदरबार जलाउन संलग्न रहेको आरोपमा चितवनको खैरहनी नगरपालिका–९ का ३६ वर्षीय महेन्द्र गौतम पक्राउ परेका छन्।
उनले सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै अन्तर्वार्ता दिएको प्रमाणको आधारमा प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई बिहीबार पक्राउ गरेर सार्वजनिक उपद्रवमा अदालतबाट पाँच दिनको म्याद लिएको छ। उनी चितवन खैरहनीका भए पनि काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्दै आएका थिए।
भदौ २४ गतेका दिन सिंहदरबारको गेट तोडेर भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौँ भनेको उनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यही प्रमाणको आधारमा उनलाई पक्राउ गरिएको हो।
माघ २२, २०८२ बिहीबार १९:५७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।