टेलिकमले नवीनतम प्रविधि र ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा गृहमन्त्रीको जोड
काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले नवीनतम प्रविधि र गुणस्तरीय सेवालाई केन्द्रमा राखेर काम गर्न नेपाल टेलिकमलाई आग्रह गरेका छन्।
२२ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले टेलिकम सरकार र नागरिक जोड्ने 'सेतु' भएको उल्लेख गर्दै आगामी दिनमा अत्याधुनिक प्रविधिमा आधारित सेवा प्रवाहमार्फत ग्राहकको आत्मसन्तुष्टिलाई केन्द्रमा राख्ने आग्रह गरे।
उनले दुर्गम क्षेत्रमा सञ्चार पहुँच पुर्याएर कम्पनीले डिजिटल समावेशितामा महत्त्वपूर्ण योगदान दिएको र अबको लक्ष्य गुणस्तर सुदृढीकरण हुनुपर्ने धारणा राखे। अर्यालले मुलुकको आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको प्रमुख पूर्वाधारको रूपमा नेपाल टेलिकमलाई चित्रण गरे। उनले सञ्चार पहुँचको विस्तार, डिजिटल साक्षरता र विपद्का समयमा टेलिकमले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए।
“नवीनतम प्रविधिको आधारमा गुणस्तरीय सेवा प्रवाह गर्नु समयको आवश्यकता भएको छ,” उनले भने, “नयाँ-नयाँ प्रविधिमा आधारित सेवाको विकास गर्दै सार्वजनिक दायित्व र नवप्रवर्तनलाई सन्तुलनमा राखेर गुणस्तरीय सेवा उपलब्ध गराउनु सेवाग्राहीको हक र अधिकार हो।”
सरकारको नीति तथा कार्यक्रमलाई आत्मसात् गर्दै नागरिकप्रतिको कर्तव्य निर्वाहमा नेपाल टेलिकमले सरकारसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास आफूले लिएको उनले भने। नेपाल टेलिकमको सुदृढीकरण र विकासमा सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि अर्यालले व्यक्त गरे।
समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले नेपाल टेलिकमले गुणस्तरीय सेवा विस्तार गर्दै दुर्गम तथा पिछडिएका क्षेत्रमा समेत पहुँच स्थापित गरिने बताइन्। उनले नेपाल टेलिकमको सेवा विस्तारले सर्वसाधारणको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै सेवाको गुणस्तर अझै वृद्धि गरिने स्पष्ट पारिन्। बस्नेतले भनिन्, “नेपाल टेलिकमले सर्वसाधारणको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नेछ र सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउनेछ।”
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीले कम्पनीले फोरजी/एलटीई सेवाको जडान, विस्तार, स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै हाल सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहमा सो सेवाको पहुँच विस्तार गरेको जानकारी दिए।
“हालसम्म टुजी, थ्रीजी र फोरजी प्रविधिमा आधारित मोबाइल सेवाका बिटीएसमार्फत देशभरका विभिन्न ४,७८८ स्थानमा मोबाइल सेवा उपलब्ध गराएको छ। अब थप चार स्थानीय तह हुम्लाको ताँजाकोट र अदानचुली, मुगुको सोरु तथा कार्मारोकक्या फोरजी सेवा सञ्चालनमा ल्याउन बाँकी रहेको छ,” उनले भने, “हाल सञ्चालनमा रहेको फोरजी कोर सिस्टमलाई स्तरोन्नति गरी फाइभजी सेवाको सुरुआत गर्नको लागि आपूर्तिकर्ताबाट प्राप्त प्रस्तावको अध्ययन सम्पन्न भई पुनरावलोकनका चरणमा रहेको छ।”
टेलिकमका अनुसार गत असार मसान्तसम्म २१ लाख ७४ हजार ६४ क्षमता रहेको एफटिटीएच नेटवर्क हाल २२ लाख ६५ हजार पुगेको छ।
माघ २२, २०८२ बिहीबार १७:२३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।