क्यानडाद्वारा नेपालसामु १६२ रनको लक्ष्य प्रस्तुत
काठमाडौं : आइसीसी पुरुष टी-२० विश्वकपको तयारीका लागि भारतको चेन्नईमा जारी अभ्यास खेलमा क्यानडाले नेपालसामु १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। बिहीबार टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पार्यो।
क्यानडाका लागि ओपनर नवनीत धालिवालले सर्वाधिक ४१ रनको योगदान दिए। उनले ३६ बलमा १ चौका र ३ छक्का प्रहार गरे। कन्वरपाल तथगुरले २५ रन जोडे। श्रेयस मोभाले मात्र १९ बलमा ३ छक्का र २ चौकाको मद्दतले अविजित ३८ रन जोडे भने जष्करण सिंहले ११ बलमा २१ रनको योगदान दिए। क्यानडाले अन्तिम ५ ओभरमा आक्रामक खेल्दै ५८ रन जोडेको थियो।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरको स्पेलमा मात्र ३.५० को इकोनोमी रेटमा १४ रन खर्चेर २ विकेट लिए। यस्तै, कुशल भुर्तेलले ३ ओभरमा २६ रन खर्चेर २ विकेट हात पारे। सोमपाल कामी र नन्दन यादवको नाममा समान १-१ विकेट रह्यो।
नेपालले आफ्नो पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको थियो। यो क्यानडा विरुद्धको खेल नेपालका लागि विश्वकप अघिको अन्तिम अभ्यास खेल हो।
१०औँ संस्करणको टी-२० विश्वकप आगामी शनिबार (फेब्रुअरी ७) देखि मार्च ८ सम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ। प्रतियोगितामा नेपाल समूह 'सी' मा रहेको छ। यस समूहमा नेपालसँगै साविक विजेता इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन्। नेपालले आफ्नो पहिलो खेल आइतबार इङ्ग्ल्यान्ड विरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्ने तालिका छ।
माघ २२, २०८२ बिहीबार १५:१९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।