विश्वकप देखाउने नाममा स्टिक्स नेपालको ‘डिजिटल डकैती’ : पैसा लिएर समयमा खेल देखाएन, सम्पर्क गर्ने नम्बर छैन

विश्वकप देखाउने नाममा स्टिक्स नेपालको ‘डिजिटल डकैती’ : पैसा लिएर समयमा खेल देखाएन, सम्पर्क गर्ने नम्बर छैन

काठमाडौं : नेपाली क्रिकेट इतिहासकै ठूलो उत्सव मानिएको टी-२० विश्वकपको वार्म-अप खेल हेर्न आतुर नेपाली समर्थकहरू बिहीबार ठगिए।

नेपालका लागि विश्वकपको आधिकारिक स्ट्रिमिङ पार्टनरको स्टिक्स नेपालले खेल हेर्न चाहने दर्शकसँग अग्रिम रकम ३ सय ९९ रुपैयाँ लियो। तर समयमा खेल प्रसारण गरेन।

विश्वकपका खेलहरू मोबाइल र वेबमा देखाउने भन्दै स्टिक्स नेपालले नेपाली दर्शकहरूबाट अर्ली बर्ड अफर अन्तर्गत ३९९ रुपैयाँ शुल्क उठाइरहेको छ भने ७ फेब्रुअरीदेखि भने ४९९ रुपैयाँ तोकिएको छ।

तर, बिहीबार भारत चेन्नईमा भएको नेपाल र क्यानडाबीचको वार्म-अप खेल सुरू हुँदा पैसा तिरेका ग्राहकहरूले खेल लाइभ हेर्न पाएनन्। 

वेबसाइटमा पैसा बुझाउने ठाउँ सहज रुपमा भेटिन्छ तर कुनै समस्या आए कसलाई भन्ने कुनै सम्पर्क नम्बर छैन। यसले अग्रिम रकम बुझाए पनि खेल हेर्न नपाएका उपभोक्ताले समस्याबारे जानकारीसम्म गराउने ठाउँ भेटेनन्।

इनिङ्सको ५ ओभर सकिँदासम्म वेबसाइटमा खेल प्रसारण नै भएन। पैसा तिरेर सब्स्क्रिप्सन लिएका दर्शकले आफ्नो टोलीको ब्याटिङ/बलिङ हेर्ने सुविधा नदिएर ठगी गरेको ध्रुव रिजालले बताए। 

‘प्राविधिक समस्या भएको हुनसक्छ, तर यसबारेमा न त उसको वेबसाइटमा पूर्वसूचना राखियो न माफी नै मागियो। सेवाग्राहीबाट पैसा लिइसकेपछि सेवा अवरुद्ध हुनु त डिजिटल लुट हो,’ स्टिक्स नेपालको सब्सक्रिप्सन लिएका ग्राहक रिजाल भन्छन्, ‘पैसा तिरेपछि हामीले स्मुथ तरिकाले खेल हेर्न पाउनुपर्छ। पैसा पनि लिने अनि ५ ओभरसम्म गेम नै नेदेखाउने? यो त सरासर ठगी हो।’

अझ गम्भीर विषय त के छ भने, डिजिटल प्लेटफर्मको दावा गर्ने यो कम्पनीको ग्राहक सेवाको अवस्था दयनीय र शंकास्पद छ। वेबसाइटमा समस्या परेका ग्राहकले सम्पर्क गर्नका लागि कुनै फोन नम्बर छैन।

‘कन्ट्याक्ट अस’ सेक्सनमा क्लिक गर्दा एउटा ईमेल ठेगाना मात्र देखिन्छ, जहाँ पठाइएको ईमेलको कुनै जवाफ आउँदैन। लाखौं रुपैयाँ उठाउने कम्पनीले एउटा हटलाइन नम्बर वा लाइभ च्याट सपोर्ट राख्न नसक्नुले यसको विश्वसनीयतामा गम्भीर शंका बढाएको छ।

यही कारण सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले यसलाई ‘स्क्याम’ भन्दै आक्रोश पोखिरहेका छन्।

सचिवले तारिफ गर्दा क्यानका प्रवक्ता भन्छन- ‘थाहा छैन’
यस प्रकरणमा नेपाल क्रिकेट संघको भूमिका झनै गैरजिम्मेवार देखिएको छ। उकेराले ​​स्टिक्स नेपालको आधिकारिक व्यक्ति र यसमा समस्या आएकोबारेमा कसलाई जानकारी गराउने भनेर सोध्दा क्यानका प्रवक्ता छुम्बी लामाको जवाफ उदेकलाग्दो आयो।

लामाले भने, "नेपालमा अनलाइन स्ट्रिमिङ पार्टनर स्टिक्स नेपाल हो भन्ने थाहा छ। तर यसको जिम्मा कसले लिएको छ भन्नेबारे थाहा छैन।"

तर, केही समयअघि मात्रै क्यानका सचिव तथा पूर्व कप्तान पारस खड्का स्वयं उपस्थित भएर एक भव्य कार्यक्रमबीच नेपालको ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर म्याक्सको नाम घोषणा भएको थियो।

उक्त कार्यक्रममा सचिव खड्काले ‘नेपाली च्यानल/प्लेटफर्मबाट विश्वकपको प्रत्यक्ष प्रसारण हुनु नेपाली क्रिकेट विकासको लगानी हो’ भन्दै कम्पनीको प्रशंसा समेत गरेका थिए।

माघ २२, २०८२ बिहीबार १४:२७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।