क्यानडाविरुद्धको वार्म अप खेल कप्तान रोहित पौडेलले नखेल्ने

क्यानडाविरुद्धको वार्म अप खेल कप्तान रोहित पौडेलले नखेल्ने

काठमाडौं : टी-२० विश्वकप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले नखेल्ने भएका छन्।

नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा दिउँसो सवा ३ बजेदेखि खेल्न लागेको छ। यो नेपालको दोस्रो अभ्यास खेल हो। पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो।

कप्तान रोहित पौडेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले बिहीबार मुम्बईमा आयोजना गरेको ‘क्याप्टेन्स डे’मा सहभागी हुन मुम्बई जाने क्रममा रहेकाले आजको खेलमा अनुपस्थित हुने भएका हुन्। आईसीसीले सञ्चारकर्मीसँग कुराकानी गर्नका लागि यो कार्यक्रम आयोजना गरेको छ।

नेपालसहित भारत, अफगानिस्तान, क्यानडा, इंग्ल्यान्ड, इटाली, न्युजिल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज ‘क्याप्टेन्स डे’ मा सहभागी हुनेछन्। पाकिस्तानसहित अन्य टोलीको ‘क्याप्टेन्स डे' श्रीलंकाको कोलम्बोमा राखिएको छ।

रोहितको अनुपस्थितिमा उपकप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा नेपालले चेन्नईको चेपकस्थित एमए चिदाम्बरम रंगशालामा उत्रिने तय भएको छ।

नेपाली टोली क्यानडासँग खेलेर शुक्रबार मात्र मुम्बई आइपुग्नेछ। नेपालले आइतबार इंग्ल्यान्डसँग मुम्बईको वाङ्खडे रंगशालामा खेलेर टी-२० विश्वकपको सुरुआत गर्नेछ।

माघ २२, २०८२ बिहीबार ११:४८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।