उच्च आत्मविश्वाससहित विश्वकपमा नेपाल, सुपर-८ एक मात्र लक्ष्य
काठमाडौं : तेस्रो पटक टी-२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोली यसपटक उच्च आत्मविश्वास र ठूलो अपेक्षासहित मैदानमा उत्रँदैछ।
पछिल्ला १२ वटा टी-२० अन्तर्राष्ट्रिय खेलमध्ये १० वटामा जित हात पारेको नेपाल उत्कृष्ट लयमा देखिएको छ। यी सबै जित विदेशी भूमिमा हासिल हुनुले टोलीको मनोबल थप बढाएको छ।
विगतमा अन्तिम समयमा आएर नतिजा गुमाउने ‘कार्डियाक किड्स’को छवि बदल्दै नेपालले अहिले ठूला टोलीविरुद्ध पनि नतिजा निकाल्ने क्षमता विकास गरेको छ।
नेपालले विश्वकपको तयारीका क्रममा शारजहामा वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक सिरिज जित्यो भने नेदरल्यान्ड्स र स्कटल्याण्डलाई उनीहरूकै घरेलु कन्डिसनमा हराउन सफल भयो।
एसिया-प्यासिफिक छनोटमा अपराजित रहँदै विश्वकपमा पुगेको नेपालले अभ्यास खेलमा मुम्बई-११ र यूएईलाई हराएर आफ्नो तयारीको संकेत दिएको छ।
विश्वकपको स्क्वायड हेर्दा मुख्य प्रशिक्षक स्टुअर्ट लले पुरानो संरचनालाई नै विश्वास गरेको देखिन्छ। रोहित पौडेलको नेतृत्वमा रहेको यो टोलीमा स्पिनर सन्दीप लामिछाने र ललित राजवंशी टोलीका मुख्य अस्त्र हुन्।
ब्याटिङमा कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडी जमेको छ भने मध्यक्रममा रोहित, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र गुल्सन झा छन्।
नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट प्रदर्शन गरेका स्पिनर शेर मल्ल र अलराउन्डर बसीर अहमदले टोलीमा स्थान बनाएका छन्। यस्तै विकेटकिपरको विकल्पमा लोकेश बमलाई राखिएको छ।
तीव्र बलिङका लागि टोलीले सोमपाल कामी र करण केसीको अनुभवी जोडीसँगै नन्दन यादवलाई पनि समावेश गरेको छ।
नेपालको जितको मुख्य आधार आक्रामक रनिङ र चुस्त फिल्डिङ हो। विशेषगरी दीपेन्द्रसिंह ऐरीको फिल्डिङ विपक्षीका लागि सबैभन्दा ठूलो खतरा बन्न सक्छ।
उनी ३० यार्ड ‘सर्कल’भित्र विश्वकै उत्कृष्ट फिल्डरमध्ये एक मानिन्छन्, जसको डाइरेक्ट हिटले खेलको नक्सा बदल्न सक्छ।
बलरहरूमा लामिछाने र राजवंशीलाई विकेट टेकरका रूपमा छन् भने करण, सोमपाल, नन्दनले अन्तिम ओभरहरूमा ब्याटिङबाट पनि जादुमय नतिजा दिन सक्छन्।
नेपालले समूह चरणका चारवटै खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्नेछ।
एउटै मैदानमा खेल हुनु र मुम्बईमा ठूलो संख्यामा नेपाली समर्थक उपस्थित हुने हुँदा नेपाललाई घरेलु मैदानकै आभास हुने अपेक्षा गरिएको छ।
सन् २०१४ पछि विश्वकपमा जितको खडेरी तोड्ने मात्र होइन, यसपटक नेपालको नजर ‘सुपर-८’ मा पुग्ने छ। इंग्ल्याण्ड बलियो टोली भए पनि नेपालले इटाली, वेस्ट इन्डिज र स्कटल्याण्डलाई हराउन सक्ने आँकलन गरिएको छ।
इटाली नयाँ र अपरिचित प्रतिद्वन्द्वी भए पनि वेस्ट इन्डिजलाई हालै हराएको अनुभव र स्कटल्याण्डसँगको पुरानो प्रतिस्पर्धाले नेपाललाई समूह चरण पार गर्ने आशा जगाएको छ।
माघ २२, २०८२ बिहीबार ०९:५४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।