टी-२० विश्वकप वार्मअप : आरिफ र दीपेन्द्रको अर्धशतकमा नेपालद्वारा यूएई ७ विकेटले पराजित
काठमाडौं : भारतको चेन्नईमा मंगलबार सम्पन्न आईसीसी टी-२० विश्वकपको वार्मअप खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।
यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले १८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
१४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालको सुरुवात भने केही खराब रह्यो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख समान ८-८ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेल १६ रन (१९ बल) बनाएर रनआउट भए।
६.५ ओभरमा ४५ रन बनाउँदा नेपालले ३ विकेट गुमाइसकेको थियो।
तर, त्यसपछि क्रिजमा आएका आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले इनिङ्स सम्हाले। यी दुईबीच चौथो विकेटका लागि अविजित शतकीय साझेदारी भयो।
आक्रामक ब्याटिङ गरेका आरिफ शेखले ३७ बलमा ८ चौका र २ छक्कासहित अविजित ६१ रन बनाए।
त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३१ बलमा ४ चौका र १ छक्काको मद्दतले अविजित ५० रनको योगदान दिए। नेपालले १७ ओभरमा ३ विकेटको क्षतिमा १४८ रन बनाउँदै जित हासिल गर्यो।
यूएईका बलर मोहम्मद रोहिदले १ विकेट लिए भने अन्य बलरहरू महँगो साबित भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।
यूएईका लागि सोहेब खानले २७ बलमा अविजित ३८ रन बनाए भने हर्षित कौशिकले ३५ रन र ओपनर आर्यन शर्माले २५ रनको योगदान दिए। मोहम्मद जोहेबले १९ रन बनाए।
बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। करण केसीले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए भने सन्दीप लामिछानेले ४ ओभरमा २४ रन दिँदै २ विकेट हात पारे।
ब्याटिङमा चम्किएका दीपेन्द्र सिंह ऐरीले बलिङमा पनि कसिलो प्रदर्शन गर्दै ३ ओभरमा मात्र १२ रन दिएर १ विकेट लिए।
नेपालले आफ्नो दोस्रो वार्मअप खेल बिहीबार ३:१५ बजे क्यानडाविरुद्ध चेन्नईमै खेल्नेछ।
माघ २१, २०८२ बुधबार ०८:४२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।