मिसन पुस्तान्तरण-१३ : ताप्लेजुङमा योगेशको विरासत जोगाउन एमालेको ‘युवा कार्ड’, ३८ वर्षीय क्षितिजको अग्निपरीक्षा
काठमाडौं : भदौ २३ र २४ गतेको आन्दोलनपछि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका विभिन्न दलहरूले आफ्ना उम्मेदवारहरूमा युवा सहभागितालाई बढाएका छन्।
त्यसै अनुसार एमालेले प्रत्यक्षतर्फ ४० वर्षमुनिका १३ जनालाई उम्मेदवार बनाएको छ। तिनै युवा अनुहारमध्येका एक हुन्- ३८ वर्षीय क्षितिज थेबे।
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएका क्षितिज सिंहदरबार प्रवेश गर्ने सपनासहित चुनावी मैदानमा उत्रिएका छन्। यतिबेला उनी ताप्लेजुङका गाउँ-बस्तीमा पुगेर मतदाताको मन जित्ने कसरतमा छन्।
जिल्लामा विभिन्न दलका गरी १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। स्वतन्त्र उम्मेदवार नभएको यस क्षेत्रमा बाँकी १२ प्रतिस्पर्धीलाई पछि पार्दै संसद भवन छिर्ने चुनौती क्षितिजसामु छ।
योगेशको विरासत र क्षितिजको चुनौती
विगतका नतिजा हेर्दा ताप्लेजुङ एमालेका लागि सुरक्षित गढ मानिए पनि क्षितिजका लागि यो चुनाव सहज भने छैन।
यहाँ कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बु, नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्री, श्रम संस्कृति पार्टीका सन्तोष राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वीरेन्द्र श्रेष्ठ उनका मुख्य प्रतिस्पर्धी देखिएका छन्।
ताप्लेजुङ यसअघि २०७४ र २०७९ को निर्वाचनमा एमाले सचिव योगेश भट्टराईले जितेको क्षेत्र हो। २०७९ को निर्वाचनमा भट्टराईले नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्रीलाई झिनो मतान्तरले पराजित गरेका थिए।
त्यसबेला कांग्रेस र एकीकृत समाजवादीको गठबन्धन हुँदा पनि भट्टराई २१ हजार ९ सय ४२ मत ल्याएर विजयी भएका थिए भने बुडाक्षेत्रीले २१ हजार ७ सय ३८ मत प्राप्त गरेका थिए। भट्टराईको जितको अन्तर मात्र २०४ मत थियो। तिनै खेलप्रसाद अहिले पुनः क्षितिजका प्रतिस्पर्धी बनेका छन्।
त्यसअघि २०७४ को निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार बन्दा भट्टराईले कांग्रेसका केशव दाहाललाई १२ हजार ५ सय ९१ को फराकिलो मतान्तरले हराएका थिए। भट्टराईले २९ हजार ४ सय ७९ मत ल्याउँदा दाहाल १६ हजार ८ सय ८८ मतमा समेटिएका थिए।
तर, त्यसयता वाम गठबन्धन गरेर बनेको नेकपा विभाजन भएर एमाले नै भइसकेको छ भने नयाँ दलहरूको उदय पनि भएको छ। यही चुनौतीका बीच क्षितिजले चुनाव लड्नुपर्नेछ।
अघिल्ला निर्वाचनमा जस्तो दलगत गठबन्धन नभएकाले नयाँ उम्मेदवारका रूपमा क्षितिजलाई योगेशको विरासत जोगाउन फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ।
विद्यार्थी राजनीतिदेखि संसदको यात्रासम्म
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-१, मादिबुङ (साबिक सिनाम गाविस) मा २०४४ सालमा जन्मिएका क्षितिजको बाल्यकाल गाउँमै बित्यो। विद्यालय तहदेखि नै राजनीतिप्रति रुचि राख्ने उनले २०५७ सालमै अनेरास्ववियुको ताप्लेजुङ जिल्ला कमिटी सदस्य भएका थिए।
२०५९ मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौं आएका क्षितिजले ‘न्यू समिट कलेज’ बाट विज्ञान संकायमा प्रथम श्रेणीमा प्लस-टु उत्तीर्ण गरे।
परिवारले उनलाई डाक्टर वा इन्जिनियर बनेको देख्न चाहेका थिए। तर, समाज परिवर्तन र राजनीतिक नेतृत्वको हुटहुटीले उनलाई अमृत साइन्स क्याम्पस (अस्कल) पुर्यायो। त्यहाँ बीएस्सी पढ्दै गर्दा उनी पूर्णकालीन विद्यार्थी राजनीतिमा होमिए।
२०६२/०६३ को जनआन्दोलनमा सक्रिय सहभागी भएका उनी शाही सत्ताको विरोध गर्दा हिरासतमा समेत परे। विज्ञानमा स्नातक गरेसँगै उनले त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा बीए पनि पूरा गरे। विद्यार्थी राजनीतिपछि उनी एमालेको सम्पर्क मञ्च हुँदै २०६६ सालदेखि राष्ट्रिय युवा संघ नेपालमा आबद्ध भए।
युवा संघको केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै उनी दुई कार्यकाल अध्यक्ष निर्वाचित भए। १०औं महाधिवेशनमा प्रतिस्पर्धीलाई हराउँदै अध्यक्ष बनेका क्षितिज गत मंसिरमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
पार्टीको विद्यार्थी फाँट, जनवर्गीय संगठन र भूगोलको राजनीतिमा खारिएका क्षितिजलाई एमालेले यसपटक ‘टेस्टेड’ नेताका रूपमा अघि सारेको छ।
चुनावी एजेन्डा: ‘काम, काम र काम’
चुनावी मैदानमा होमिएका क्षितिजले आफ्ना प्रतिबद्धतालाई मूर्त रूप दिन ‘काम, काम र काम’ लाई मूल मन्त्र बनाएको बताएका छन्। उनले ताप्लेजुङको विकास र समृद्धि नै आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गरे।
‘म ताप्लेजुङमा शासक होइन, सेवक बन्न आएको हुँ,’ मतदातासँगको भेटमा उनले भन्ने गरेका छन्, ‘तपाईंहरूले जिताउनुभयो भने म जनताको सुख-दुःखको साथी भएर काम गर्नेछु।’
क्षितिजले राष्ट्रियताको संरक्षण, डिजिटल प्रविधिको प्रयोगमार्फत विकास र स्थानीय समस्याको समाधानलाई मुख्य एजेन्डा बनाएका छन्।
खानेपानी, सिँचाइ, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत आवश्यकता परिपूर्ति गर्न नीतिगत र व्यावहारिक दुवै पहल गर्ने उनको प्रतिबद्धता छ। उनले संसदमा ताप्लेजुङको आवाज बुलन्द पार्ने मात्र नभई स्थानीय स्तरमा उद्यमशीलताको विकास गरी युवा पलायन रोक्ने योजना अघि सारेका छन्।
पाथिभरा लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन गरी जिल्लालाई आत्मनिर्भर बनाउने उनको योजना छ। ‘युवालाई विदेशिनबाट रोक्न नाराले मात्र पुग्दैन, ठोस नीति र बजेट चाहिन्छ। संसदमा पुगेर म त्यसका लागि निरन्तर दबाब दिनेछु’, क्षितिज भन्छन्।
कृषिजन्य उत्पादनको उचित मूल्य निर्धारण र बजार व्यवस्थापनका लागि सरकारलाई जबाफदेही बनाउने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।
०००
भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो- पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो।
हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार-प्रसार सुरू भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब ‘कसरी रोकिन्छ र?’ भन्ने दृढता देखिन्छ।
जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनिका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरू गरेको हो।
मिसन पुस्तान्तरणको यसअघिका सामग्री:
माघ २१, २०८२ बुधबार ०७:४८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।