बाल सुधार गृहका ७५ जनालाई नुवाकोटको कारागारमा सारियो

बाल सुधार गृहका ७५ जनालाई नुवाकोटको कारागारमा सारियो

भक्तपुर : सानोठिमीस्थित बाल सुधार गृहमा रहेका १८ वर्षभन्दा माथिका ७५ बालबिज्याइँकर्तालाई नुवाकोटस्थित केन्द्रीय कारागार खम्पा क्याम्पमा सारिएको छ।

बालगृहमा क्षमताभन्दा बढी १६९ बालबिज्याइँकर्ता रहँदै आएकामा  गत ८ गते राति भएको झडप, आगजनी र तोडफोडका कारण यहाँको अधिकांश संरचनामा क्षति पुगेको थियो भने बालबिज्याइँकर्तालाई जिल्लाका अन्य प्रहरी हिरासतमा स्थानान्तरण गरिएका थिए। 

पुनः सुधार गृहमा राख्न सक्ने अवस्था नरहेपछि नुवाकोट स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। 

बाल सुधार गृहमा रहँदै आएका १८ वर्षमाथिका ७५ बालबिज्याइँकर्तालाई नुवाकोटस्थित केन्द्रीय कारागार खम्पा क्याम्पमा स्थानान्तरण गरिएको उनले बताए। 

सुधार गृहमा २४ जना बालिकासमेत थिए। अठार वर्ष उमेर नाघेपछि बालबिज्याइँकर्तालाई कारागार चलान गर्ने कानुनी व्यवस्था नहुँदा ३५ वर्षसम्मका युवाहरूलाई समेत सुधार गृहमा राखिँदै आएको थियो। 

एउटै सुधार गृहमा ३५ वर्ष उमेरसम्मका बालबिज्याइँकर्ता र बालिकासमेत रहँदा सुरक्षामा चुनौती थपिएको, पटक पटक झडप हुँदा  समस्या पर्दै आएको थियो। 

प्रमुख जिल्ला अधिकारी ढकालले बाल सुधार गृहको मर्मत गरी बालिकाहरूलाई मात्रै राख्ने गरी व्यवस्थापन गर्ने तयारी भएको जानकारी दिए।

माघ २०, २०८२ मंगलबार २३:०२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।