सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’
किमाथाङ्का : सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन २१.५ मेगावाट क्षमताको सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु भएको करिब तीन वर्षपछि छिचोलिएको (ब्रेक थ्रु) छ। २०७९ कात्तिक २३ देखि काम थालेको आयोजनाको चार हजार ११० मिटर लामो सुरुङ सोमबार छिचोलियो।
यहाँ एक कार्यक्रमकाबीच अर्विट इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक गणेश कार्कीले सुरुङ ‘ब्रेक थ्रु’ गरे। यो निजी क्षेत्रले पहिचान गरी अघि बढाएको आयोजनाको हो। सभापोखरी- ३ मा इन्टेक एरिया रहेको आयोजनाको काम सभापोखरी गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा भइरहेको छ।
जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको चार हजार ११० मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको आयोजनाका इन्चार्ज कृष्णप्रसाद पन्तले बताए। अब सुरुङको बाँकी कङ्क्रिट लाइनिङको काम गरिने र मुख्य सुरुङबाट गएको पानीलाई एक हजार ४५ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युत् गृहमा खसाली विद्युत् उत्पादन गरिने उनले बताए।
पन्तका अनुसार हालसम्म आयोजनाको काम ७५ प्रतिशत सम्पन्न भइसकेको छ। उक्त आयोजनाबाट उत्पादन भएको विद्युत् खाँदबारी नगरपालिका- १० सित्तलपाटीमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिने आयोजना इन्चार्ज उनले बताए। उक्त आयोजना आगामी वैशाख २३ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।
आयोजनाका इन्चार्ज पन्तका अनुसार आयोजनाअन्तर्गत प्रसारण लाइनको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा हालसम्म स्थानीयलाई रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र बेलिब्रिज पुल निर्माण लगायतका काम भइरहेका छन्।
करिब पाँच अर्ब लागत रहेको आयोजनाको मुख्य निर्माण कम्पनी वैभव पावर नेपाल प्रालिले यहाँ काम गरिरहेको छ।
माघ २०, २०८२ मंगलबार २२:१५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।