सुरुवालको गोजीमा लुकाएर काठमाडौं लैजान लागिएको खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलट युवती पक्राउ
झापा : झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट ठुलो परिमाणको लागूऔषध खैरो हिरोइनसहित एक युवती पक्राउ परेकी छन्।
यति एयरलाइन्सको उडान नम्बर ९२६ मार्फत काठमाडौं जान लागेकी हुम्लाको खार्पुनाथ गाउँपालिका-२ की २६ वर्षीया रोशनी बुढालाई प्रहरीले पक्राउ गरेको हो।
विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले सोमबार अपराह्न ५:३५ बजे नियमित जाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार, बुढाले लगाएको सुरुवालको दुवै गोजीमा लुकाएर राखिएको १४४ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन फेला परेको छ।
पक्राउ परेकी बुढा विगत दुई वर्षदेखि भारतको कोलकातास्थित एउटा जापानी रेस्टुरेन्टमा वेट्रेसका रूपमा कार्यरत रहेको खुलेको छ।
प्रहरी हिरासतमा रहेकी बुढाको बयानका आधारमा लागूऔषध कारोबारमा संलग्न गिरोहका अन्य दुई सदस्यलाई पनि काठमाडौंबाट पक्राउ गरिएको छ।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले सिन्धुपाल्चोक, पाँचपोखरी गाउँपालिका-६ का ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप, दोरम्बा गाउँपालिका-५ का २१ वर्षीय थोर्मस तामाङलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
माघ २०, २०८२ मंगलबार १३:३७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।