निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी
कञ्चनपुर : छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ।
नेपालमा संक्रमण फैलन नदिन भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकाबाट नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाइएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए।
कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी नाकामा रहेका हेल्थ डेस्कबाट निगरानी भइरहेको जोशीले बताए।
“नाकाका सबै हेल्थ डेस्कमा सतर्कता अपनाइएको छ”, जोशीले भने– “हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई निपाह भाइरसबारे अभिमुखीकरण समेत गराइएको छ ।”
उनले कोभिड-१९ को समयमा बनाइएका आइसोलेसन वार्ड समेत तयारी अवस्थामा राखिएको बताए।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्रसिंह रावलले नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत सङ्क्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए।
“नाकाबाट नेपाल भित्रिने क्रममा ज्वरो आएका र शङ्कास्पद व्यक्तिमाथि हेल्थ डेस्कका कर्मचारीले निगरानी राख्दै छन्”, रावलले भने-“सङ्क्रमणको शङ्का भएका व्यक्तिको स्वाव सङ्कलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाउँछौ।”
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि व्यवस्था मिलाइएको प्रमुख रावलले बताए।
निपाह भाइरस चमेरो, सुँगुर र सङ्क्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यान दिएर रोकथामका उपाय अपनाइएको उनले बताए।
माघ २०, २०८२ मंगलबार १२:५१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।