मिसन पुस्तान्तरण-१२ : जातीय विभेदको जरो उखेल्न चितवन-१ बाट २५ वर्षीय विकासको ‘विद्रोह’
काठमाडौं : आफ्ना शिक्षकलाई श्रद्धाले दिएको खाजा ‘जात’कै कारण थुकिँदा कक्षा ८ मा पढ्ने बालमस्तिस्कमा कस्तो असर पर्ला? चितवनको राप्ती नगरपालिका-९, लालकोटका २५ वर्षीय विकास कामीले भोगेको तीतो यथार्थ हो यो।
विकासको बाल्यकाल विभेदमै बित्यो। घरबाट भुटेको मकै बोकेर ट्युसन सेन्टर गएको दिन विकासलाई अझै याद छ। उनले साथीहरूसँग मकै बाँडे। साथीहरूले त्यही मकै ट्युसन पढाउने म्याडमलाई दिए। म्याडमले सुरुमा ‘मीठो रहेछ’ भन्दै खाइन्।
तर, कसले ल्याएको भन्ने थाहा पाइन्, त्यसपछि उनको अनुहारको रंङ बदलियो। विकासले ल्याएको भन्ने थाहा पाउनेबित्तिकै उनले चपाउँदै गरेको मकै मात्र थुकिनन्, निल्न लागेको गाँस समेत ओकलेर मुख कुल्ला गरिन्।
कलिलो मस्तिष्कमा लागेको त्यो चोट सामान्य थिएन। ‘अघिसम्म मीठो भएको मकै, मैले ल्याएको भनेर थाहा पाउनासाथ कसरी बिटुलो भयो?’ विकासले आफैँलाई प्रश्न गरे।
विभेदको शृङ्खला त्यतिमै रोकिएन। राप्ती नगरपालिकाकै मन्दिरमा पूजा हुँदा उनकी आमा र दिदीहरूले भगवानको दर्शन गर्न पनि पाएनन्। अरू मानिसहरू मन्दिरभित्र पसेर पूजा गरिरहँदा उनका परिवारले परैबाट हात जोड्नुपर्थ्यो। ‘नजिक नआऊ, भगवान रिसाउँछन्’ भन्नेहरूको आवाजले उनलाई भित्रभित्रै पोल्थ्यो।
अर्को एउटा घटनाले उनलाई झनै विद्रोही बनायो। एक दिन बाटोमा हिँड्दै गर्दा उनले एक जना ब्राह्मणको घरमा आगो लागिरहेको देखे। भात पकाउँदा आगो दन्किएर डढ्न लागेको थियो। घरबेटीलाई बोलाए, कोही बोलेनन्। उनी आफैँ अघि सरेर आगो निभाए।
तर, जब घरबेटी आइपुगे, धन्यवाद पाउनुको साटो उल्टै गाली खाए। कारण उही थियो- ‘तँ तल्लो जातको मान्छेले मेरो घर छोइस्।’ विकास भन्छन्, ‘मैले यस्ता कति विभेद भोगेँ, कति देखेँ। त्यसपछि लाग्यो- अब सहेर बस्नु हुँदैन, जातीय छुवाछुतको यो जरो उखेल्नै पर्छ।’
रुसको पढाइ छाडेर आन्दोलनको मैदानमा
सानैदेखि विभेदको आगोमा पिल्सिएका विकास स्कुल पढ्दा नै मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादी विद्यार्थी संगठनमा आबद्ध भए। २०७२ सालमा एसइई दिएका उनले कक्षा ११ र १२ पढ्दा संगठन विस्तारका लागि विभिन्न जिल्लाको यात्रा गरे। सामाजिक कुरीति र अन्धविश्वासविरुद्ध आवाज उठाए।
प्लस टु सकेपछि उच्च शिक्षाका लागि उनी रुस गए। आफ्नो र परिवारको भविष्य उज्ज्वल बनाउने सपना बोकेर विदेशिएका विकासको मन भने नेपालमै अड्किएको थियो। नेपालमा एमसीसी विरुद्धको आन्दोलन उत्कर्षमा थियो। उनी परदेशमा बसेर रमिता हेर्न सकेनन्।
‘म रसिया पढ्न त गएँ, तर मलाई देशको आन्दोलनले तान्यो। लाग्यो- देश नै रहेन भने मेरो पढाइको के अर्थ?,’ उकेरासँगको कुराकानीमा उनले भने, ‘त्यही हुटहुटीले म पढाइ बिचमै छाडेर नेपाल फर्किएँ।’
नेपाल फर्किएपछि उनले अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातक तहमा भर्ना भए। तर, वैद्य माओवादीको राजनीतिक कार्यदिशाले मात्र समाज बदल्न नसकिने निष्कर्ष निकाल्दै उनी स्वतन्त्र सामाजिक आन्दोलनमा होमिए।
मिटरब्याज पीडितको आन्दोलन होस् वा रुकुमको चौरहजारीमा भएको जातीय नरसंहार विरुद्धको आवाज, वा सहकारी ठगी विरुद्धको प्रदर्शन- विकास सधैँ अग्रमोर्चामा देखिए।
‘तिमी अझै जातको कुरा गर्छौ?’
२०८४ को निर्वाचनलाई २०८२ मा ल्याउन बाध्य पार्ने भदौ २३ र २४ गतेको चर्चित जेनजी आन्दोलनमा विकासको भूमिका महत्त्वपूर्ण थियो। ‘पुस्तान्तरण र नेतृत्व हस्तान्तरण’ को नाराले देश तातेको थियो। तर, आन्दोलन उत्कर्षमा पुग्दै गर्दा विकासले त्यहाँ पनि अर्को विभेद महसुस गरे।
जब उनले जातीय छुवाछुत र दलित अधिकारको कुरा उठाए, आफ्नै सहयोद्धा साथीहरूले उनलाई होच्याए। ‘देश विकास गर्ने कुरा भइराखेको छ, तिमी अझै जातको कुरा गर्छौ?’ भन्दै उनका मुद्दालाई पाखा लगाइयो।
विकास भन्छन्, ‘साथीहरूलाई बुझाउनै सकिनँ कि जातीय विभेद हटाउनु पनि विकासको सबैभन्दा ठूलो आधार हो। भौतिक विकासले मात्र समाज सभ्य बन्दैन।’ यही असहमतिले उनलाई नयाँ बाटो रोज्न बाध्य बनायो। उनी ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा)मा आबद्ध भए।
कागजको होइन, यथार्थको परिवर्तन
अहिले देशमा २०८४ मा हुनुपर्ने निर्वाचन दुई वर्ष अगाडि नै अर्थात् २०८२ सालमा हुँदैछ।
पुस्तान्तरणको नारा दिएर राजनीतिमा आएको नयाँ पुस्ताको परीक्षाको घडी सुरु भएको छ। यही परीक्षामा खरो उत्रिन विकास कामी चितवन क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा छन्।
उनको प्रतिस्पर्धा सामान्य छैन। एमालेको गढ मानिने र २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले बाजी मारेको यस क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने निश्चित छ।
अघिल्लो निर्वाचनमा रास्वपाका ढकालले ३४ हजार १८९ मत ल्याउँदा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ र नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत प्राप्त गरेका थिए।
संगठनको बलियो जालो भएको एमाले अनि कांग्रेस र अघिल्लो जितले हौसिएको रास्वपाको बीचमा विकास कामी एउटा फरक एजेन्डा बोकेर उभिएका छन्।
‘मलाई थाहा छ, लडाइँ सहज छैन,’ विकास भन्छन्, ‘तर म कागजमा लेखिएको परिवर्तन होइन, भुइँमान्छेले महसुस गर्ने यथार्थ परिवर्तन चाहन्छु।’
०००
भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो- पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो।
हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार-प्रसार सुरू भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब ‘कसरी रोकिन्छ र?’ भन्ने दृढता देखिन्छ।
जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनिका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरू गरेको हो।
मिसन पुस्तान्तरणको यसअघिका सामग्री:
माघ २०, २०८२ मंगलबार ०७:३६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।