प्रकाश घण्टीतिर लागेपछि ‘परालको आगो’का निर्माताको ‘वाईवाई एनालोजी’

प्रकाश घण्टीतिर लागेपछि ‘परालको आगो’का निर्माताको ‘वाईवाई एनालोजी’

काठमाडौं : कलाकार प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार बनेपछि फिल्म उद्योगमा एउटा प्रश्न जताततै सुनिन थाल्यो- ‘के प्रकाशको राजनीतिले उनको फिल्म परालको आगोको व्यापारलाई असर गर्ला?’

धेरैले अनुमान गरेका थिए, निर्माता सुशील पोखरेल यतिबेला तनाबमा होलान्। तर, दृश्य भने ठ्याक्कै उल्टो देखिएको छ।

निर्माता पोखरेल यतिबेला कुनै तनाबमा होइन, बरु अझ बढी आत्मविश्वासका साथ मैदानमा उत्रिएका छन्। उनले कलाकारको राजनीतिमा अघि बढ्नुलाई ‘निजी मामिला’ भन्दै आफ्नो फिल्मलाई ‘स्टार’ले भन्दा ‘कन्टेन्ट’ले बचाउने बताएका छन्।

निर्माता पोखरेल भन्छन्, ‘वाईवाई चाउचाउको चम्किलो मेटालिक प्याकेटले आँखा त तान्छ, तर बजारमा त्यो बारम्बार बिक्नुको मुख्य कारण प्याकेट होइन, भित्रको स्वाद हो।’

उनले आफ्ना कलाकारहरूलाई फिल्मको ‘प्याकेजिङ’को संज्ञा दिँदै दर्शकलाई हलसम्म ल्याउने र कुर्सीमा बसाइराख्ने शक्ति कथामा मात्र हुने जिकिर गरे।

‘को कलाकार कता लाग्छन्, त्यो उनीहरूको जीवन हो। मेरो जीवन भनेको मेरो फिल्म हो,’ पोखरेलले भने, ‘स्टारले ओपनिङ दिन सक्छ, तर इतिहास बनाउने काम कथाले मात्र गर्छ। म फिल्म मात्र बनाउँदिनँ, फिल्मको आत्मा बनाउँछु। त्यसैले मेरो फिल्मको प्रभाव केवल प्रचारमा मात्र होइन, दर्शकको मनमा रहनेछ।’

फिल्म क्षेत्रमा प्रायः निर्माताहरू कथाभन्दा बढी स्टारको पछाडि कुद्ने र पार्टीले कलाकार समाते डरले थर्कमान हुने अवस्था छ। तर, सुशील पोखरेलले भने आफ्नो फिल्मलाई ‘स्टारडम’को वैशाखीभन्दा पनि कथाको बलमा हिँडाउने ‘डेयरिङ’ देखाएका छन्।

प्रकाश सपुतको राजनीतिक यात्राले फिल्मको चर्चा त बढाएको छ, तर के ‘परालको आगो’ले हलमा साँच्चै आगो बाल्छ त? वा निर्माताको यो आत्मविश्वास केवल चुनावी गफ मात्रै साबित हुने हो? त्यसका लागि  बैशाख ११ सम्म पर्खनै पर्छ।

तर एउटा कुरा पक्का छ, सुशीलको यो ‘वाईवाई एनालोजी’ले स्टारको भरमा मात्र फिल्म बनाउनेहरूलाई भने एक पटक सोच्न बाध्य बनाएको छ।

माघ १९, २०८२ सोमबार १४:१०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।