प्रिन्स एन्ड्रयूले एपस्टीनलाई आफ्नै छोरीहरूको तस्बिर पठाएको खुलासा, रोयल लजमा सम्बन्ध राख्न बाध्य बनाइएको आरोप

प्रिन्स एन्ड्रयूले एपस्टीनलाई आफ्नै छोरीहरूको तस्बिर पठाएको खुलासा, रोयल लजमा सम्बन्ध राख्न बाध्य बनाइएको आरोप

एजेन्सी : बेलायती राजपरिवारका सदस्य एन्ड्रयू माउन्टबेटन-विन्डसर फेरि एक पटक गम्भीर विवादमा तानिएका छन्।

कुख्यात यौन अपराधी जेफ्री एपस्टीनसँग सन् २००८ मै सम्बन्ध तोडेको दाबी गरिरहेका एन्ड्रयूले त्यसको तीन वर्षपछिसम्म पनि एपस्टीनलाई आफ्ना छोरीहरूको तस्बिर पठाएको प्रमाण फेला परेको हो।

अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेका सन् २०१० र २०११ का इमेलहरूले यस्तो खुलासा गरेका हुन्।

दस्ताबेजअनुसार, सन् २०११ को डिसेम्बरमा एन्ड्रयूले एपस्टीनलाई क्रिसमस कार्ड पठाएका थिए। जसमा उनका दुई छोरीहरू प्रिन्सेस बीट्रिस र प्रिन्सेस यूजिनीका हिउँमा खिचिएका तस्बिरहरू थिए।

त्यस्तै, सन् २०१२ मा पठाइएको अर्को इमेलमा बीट्रिसले हिमाल चढेको र यूजिनीले च्यारिटीका लागि साइकल चलाइरहेका तस्बिरहरू पठाइएको देखिएको छ।

यो खुलासाले एन्ड्रयूले सन् २००८ पछि एपस्टीनलाई नभेटेको र सम्बन्ध तोडेको भनी दिँदै आएको बयान झूटो साबित भएको छ।

यसै विवादका कारण उनकी कान्छी छोरी यूजिनीले हालै आफ्ना पितासँगको सबै सम्बन्ध तोडेको समाचारसमेत बाहिरिएको छ।

यौन शोषणको गम्भीर आरोप र रुसी युवतीको प्रसंग
यसैबीच, एपस्टीनले एन्ड्रयूलाई २६ वर्षीया एक रुसी सुन्दरीसँग डिनरमा भेट गराउने प्रस्ताव गरेको र त्यसमा एन्ड्रयूले खुसीसाथ सहमति जनाएको इमेलबाट स्पष्ट भएको छ।

उनीमाथि आफ्नै शाही निवास रोयल लजमा एक महिलालाई जबरजस्ती यौन शोषण गरेको गम्भीर आरोपसमेत लागेको छ। अमेरिकी न्याय विभागले यसबारे केही तस्बिरहरू पनि सार्वजनिक गरेको छ।

यौन शोषणको मुद्दा र एपस्टीनसँगको अस्वाभाविक सम्बन्धका कारण बेलायतका राजा चार्ल्सले आफ्ना भाइ एन्ड्रयूलाई कारबाही गरिसकेका छन्।

सन् २०२४ अक्टोबरमा उनलाई दिइएको प्रिन्स उपाधिसहित सबै शाही पदवीहरू खोसिएको थियो। हाल उनी एक सर्वसाधारण नागरिक सरह ‘एन्ड्रयू माउन्टबेटन-विन्डसर’को नामले चिनिन्छन् र उनलाई शाही निवास खाली गर्नसमेत निर्देशन दिइएको छ।

राजकुमार एन्ड्रयूमाथि १७ वर्षको उमेरमा आफूलाई यौन शोषण गरेको आरोप लगाउने मुख्य महिला भर्जिनिया गिफ्रेको भने सन् २०२५ अप्रिलमा मृत्यु भएको छ। रिपोर्टका अनुसार उनले आत्महत्या गरेकी थिइन्।

भर्जिनियाले नै एपस्टीनको यौन तस्करी नेटवर्कको पर्दाफास गरेकी थिइन्, जसमा संसारका धेरै शक्तिशाली व्यक्तिहरूको संलग्नता रहेको खुलेको थियो।

माघ १९, २०८२ सोमबार १३:३५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।