अर्घाखाँचीमा १८ वर्षपछि नयाँ अनुहारको खोजी, साख जोगाउने र विरासत फर्काउने दाउमा दलहरू
बुटवल : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि अर्घाखाँची जिल्लामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ।
विगत डेढ दशकभन्दा बढी समयदेखि एकछत्र जस्तै बनेको राजनीतिक परिदृश्य यस पटक बदलिएको छ। मुख्य प्रतिस्पर्धी दलहरू आफ्ना नयाँ उम्मेदवारसहित चुनावी मैदानमा उत्रिएका छन्।
निर्वाचनमा अर्घाखाँचीमा विभिन्न दल र स्वतन्त्र गरी १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यद्यपि, मुख्य प्रतिस्पर्धा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपाबीच हुने देखिन्छ।
१८ वर्षपछि नयाँ अनुहार
अर्घाखाँचीको संसदीय इतिहासमा २०६४ सालयताका सबै निर्वाचनमा टोपबहादुर रायमाझीको बलियो उपस्थिति रहँदै आएको थियो।
चाहे माओवादीमा रहँदा होस् वा एमालेमा, रायमाझीले लगातार जित हासिल गर्दै आएका थिए। तर, यस पटक परिस्थिति भिन्न छ। मानव तस्करीजस्तो गम्भीर आरोपमा रायमाझी कारागारमा रहेका कारण उनी चुनावी मैदान बाहिर छन्।
लामो समय एउटै व्यक्तिको ‘होल्ड’ रहेको यस क्षेत्रले करिब १८ वर्षपछि नयाँ अनुहारलाई संसद्मा पठाउने निश्चित छ।
यसले मतदाताहरूमा एकातर्फ नयाँ नेतृत्वबारे चासो जगाएको छ भने अर्कोतर्फ पुराना राजनीतिक दलहरूलाई आफ्नो साख जोगाउने र पुरानो विरासत फर्काउने चुनौती थपिदिएको छ।
चार दलका प्रमुख प्रतिस्पर्धी
एमालेले यसपटक जिल्ला अध्यक्ष पीताम्बर भुसाललाई चुनावी मैदानमा उतारेको छ। २०५४ सालमा २५ वर्षमै बाँगी गाविस अध्यक्ष निर्वाचित भएका भुसाल २८ वर्षपछि पहिलो पटक संसदीय निर्वाचनमा भिड्दै छन्।
एमालेले टोपबहादुर रायमाझीले सुरू गरेका अधुरा आयोजनाहरू, भौतिक पूर्वाधार विकास र कृषिको रूपान्तरणलाई मुख्य एजेन्डा बनाएको छ। एमालेको रणनीति आफ्नो बलियो सङ्गठन र अघिल्लो निर्वाचनको मत परिणामलाई जोगाइराख्नु नै देखिन्छ।
अर्कोतर्फ, नेपाली कांग्रेसले विष्णुप्रसाद खनाल ‘मुस्कान’लाई उम्मेदवार बनाएको छ। २०५१ सालयता अर्घाखाँचीमा जित निकाल्न नसकेको कांग्रेसका लागि यो निर्वाचन ‘बिरासत’ फर्काउने अवसरका रूपमा हेरिएको छ।
लुम्बिनी प्रदेश सहमहामन्त्री समेत रहेका खनाल पत्रकारिता र सामाजिक क्षेत्रमा समेत परिचित नाम हो। कांग्रेसले यस पटक ‘परिवर्तन र रूपान्तरण’ को नारा अघि सारेको छ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट हरिप्रसाद भुसाल पुनः चुनावी मैदानमा छन्।
अघिल्लो निर्वाचनमा तीन हजार २ सय मत प्राप्त गरेका भुसाल यस पटक जिल्लामा देखिएको ‘नयाँ लहर’को फाइदा उठाउने दाउमा छन्। मिडिया सञ्चालक र सामाजिक अभियन्ताको छवि बनाएका भुसाल युवा र असन्तुष्ट मतदाताको मत तान्ने रणनीतिमा छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेका रामप्रसाद चौहान पनि अर्का बलियो दाबेदार हुन्। एमालेको साङ्गठनिक पृष्ठभूमिबाट आएका चौहान एकीकृत समाजवादी हुँदै हाल नेकपामा आबद्ध छन्।
सन्धिखर्कस्थित अस्पताल विकास समिति र क्याम्पसको राजनीतिमा सक्रिय रहेका चौहानले पनि आफ्नो व्यक्तिगत प्रभाव र साङ्गठनिक आधारमा मत बटुल्ने प्रयास गरिरहेका छन्।
एमालेका लागि टोपबहादुर रायमाझीको अभाव र उनीमाथि लागेको आरोपले सिर्जना गरेको मनोवैज्ञानिक दबाबलाई चिर्नु मुख्य चुनौती हो। कांग्रेसका लागि लामो समयदेखिको गुटबन्दी अन्त्य गरी एकढिक्का भएर निर्वाचनमा होमिनु र एमालेको बलियो किल्ला तोड्नु कठिन कार्य हो।
रास्वपा र नेकपा जस्ता दलहरूका लागि भने परम्परागत पार्टीहरूप्रति मतदाताको असन्तुष्टिलाई भोटमा बदल्ने ठूलो अवसर छ। यद्यपि त्यो रायमाझीको गढमा मत परिवर्तन गराउनु चुनौती नै हुनेछ।
निर्माणाधीन विमानस्थल, अधुरा सडक आयोजना र बढ्दो बसाइँसराइ यहाँका साझा चुनावी मुद्दा बनेका छन्।
के भन्छ विगत?
निर्वाचनको नतिजा आकलन गर्दा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मत परिणामलाई आधार मान्न सकिन्छ।
उक्त निर्वाचनमा यहाँबाट एमालेले ३७ हजार ४५०, कांग्रेसले २६ हजार ८६५, रास्वपाले आठ हजार ९५१, माओवादी केन्द्रले सात हजार ३४२, राष्ट्रिय जनमोर्चाले पाँच हजार ३२७ र एकीकृत समाजवादीले एक हजार ६७ मत ल्याएका थिए।
यो तथ्याङ्क हेर्दा एमालेको आधार क्षेत्र बलियो देखिन्छ। तर, निर्वाचनमा राजनीतिक समीकरण र उम्मेदवारको व्यक्तिगत छविले ठूलो भूमिका खेल्ने गर्दछ। विशेष गरी माओवादी केन्द्र र अन्य साना दलहरूको मत कता जान्छ भन्ने कुराले नै जित-हारको फैसला गर्ने देखिन्छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि अर्घाखाँचीमा कुल १ लाख ७१ हजार ६५२ मतदाता कायम भएका छन्। निर्वाचन आयोगका अनुसार यस पटक ६ हजार ८८४ नयाँ मतदाता थपिएका छन्। यी नयाँ र युवा मतदाताको झुकाव कुन पक्षमा रहन्छ भन्ने कुराले पनि निर्वाचन परिणामलाई रोचक बनाउने निश्चित छ।
माघ १९, २०८२ सोमबार ११:१४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।