मिसन पुस्तान्तरण-११ : ओखलढुंगाबाट पार्टीभित्रकै ‘विद्रोह’ चिर्दै संसद ताकेकी ३० वर्षीया अस्मिता

मिसन पुस्तान्तरण-११ : ओखलढुंगाबाट पार्टीभित्रकै ‘विद्रोह’ चिर्दै संसद ताकेकी ३० वर्षीया अस्मिता

काठमाडौं : भ्रष्टाचारको अन्त्य, सुशासन र राज्यका निर्णायक तहमा युवा सहभागिताको मुद्दा उठाउँदै गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन’ले सत्ता समीकरण नै बदलियो। त्यही बदलिएको परिवेशका कारण फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ।

जेनजी आन्दोलनपछि दलहरूले युवा पुस्तालाई पनि टिकट दिएर निर्वाचनमा उतारेको छ। यसै क्रममा एमालेले १३ जना ४० वर्ष मुनिका युवालाई उम्मेदवार बनाएको छ। तिनैमध्येकी एक हुन्- ओखलढुंगाबाट उम्मेदवार बनेकी ३० वर्षीया अस्मिता थापा।

सर्लाही-४ बाट २७ वर्षीय अमनिश कुमार यादव र पर्सा-२ बाट २९ वर्षीया रिमा कुमारी यादवपछि अस्मिता एमालेकी तेस्रो कान्छी उम्मेदवार हुन्।

ओखलढुंगाको लिखु गाउँपालिकाको उपाध्यक्ष पदबाट राजीनामा दिएर उनी प्रतिनिधि सभा सदस्यको दौडमा होमिएकी छन्। १५ जना उम्मेदवार रहेको ओखलढुंगामा १४ जनालाई पछि पार्दै संसद छिर्ने सपना बोकेकी अस्मिताको परीक्षा भने सहज छैन।

एमालेको ‘युवा कार्ड’ र अस्मिताको इन्ट्री
आन्दोलनको रापताप सेलाउन नपाउँदै एमालेले फागुन २१ को चुनावमा ‘युवा कार्ड’ फ्याँकेको छ। पार्टीले देशभरबाट ४० वर्ष मुनिका १३ जना युवालाई प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको छ।

सर्लाही-४ बाट २७ वर्षीय अमनिश कुमार यादव र पर्सा-२ बाट २९ वर्षीया रिमा कुमारी यादवपछि अस्मिता एमालेकी तेस्रो कान्छी उम्मेदवार हुन्।

स्थानीय तहको गाउँपालिका उपाध्यक्षको अनुभव सँगालिसकेकी अस्मिताले पदबाट राजीनामा दिएर संघीय संसदको यात्रा तय गरेकी हुन्। १५ जना उम्मेदवार रहेको ओखलढुंगामा १४ जनालाई पछि पार्दै संसद छिर्ने सपना बोकेकी अस्मिताको यो दौड जति रोमाञ्चक देखिन्छ, त्यति नै चुनौतीपूर्ण पनि छ।

राजनीतिमा युवा अनुहारको चर्चा चुलिए पनि ओखलढुंगाको चुनावी मैदान अस्मिताका लागि ‘फलामको चिउरा’ सरह छ। यहाँको विगतको नतिजा हेर्दा मतदाताहरू स्थिर देखिँदैनन्।

२०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसका रामहरि खतिवडाले ३३ हजार ५५६ मत ल्याएर एमालेका प्रभावशाली नेता यज्ञराज सुनुवार २६ हजार ७३८ मत लाई फराकिलो अन्तरले पराजित गरेका थिए।

त्यसबेला खतिवडालाई माओवादी र एकीकृत समाजवादीको साथ थियो। तर, २०७४ सालमा बाम गठबन्धन हुँदा तिनै यज्ञराज सुनुवारले खतिवडालाई ५ हजार बढी मतान्तरले हराएका थिए। अझ पछाडि फर्केर हेर्दा २०७० को संविधानसभामा खतिवडा नै विजयी भएका थिए।

यो ‘स्वीङ’ हुने निर्वाचन क्षेत्रमा अस्मिताले कांग्रेसका कुमार लुईटेल, नेपाली कम्युनिष्ट पार्टीका अम्विर बाबु गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विश्वराज पोखरेलहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

संगठनको बल र समानुपातिक मतमा एमाले बलियो देखिए पनि व्यक्तिगत लोकप्रियता र बदलिएको समीकरणले नतिजालाई तलमाथि पार्न सक्छ।

पार्टीभित्रको विद्रोह सबैभन्दा ठूलो तगारो
अस्मिताका लागि विपक्षी दलका उम्मेदवारभन्दा आफ्नै पार्टीभित्रको आन्तरिक कलह ‘निल्नु न ओकल्नु’ भएको छ।

जिल्ला कमिटीले लामो समय पार्टीमा योगदान गरेका पुराना नेताहरूलाई सिफारिस गरे पनि केन्द्रले ‘जुनियर’ र ‘नयाँ’ अस्मितालाई टिकट दिएको भन्दै ओखलढुंगा एमालेमा ठूलो भुइँचालो गएको छ।

केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै एमाले जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्कासहित ३८ जनाको समूहले पार्टी परित्याग गरी ‘नेपाली कम्युनिष्ट पार्टी’ प्रवेश गरेको घोषणा गर्यो।

चुनावको मुखैमा आफ्नै संगठनको कमाण्डर (जिल्ला अध्यक्ष) नै विपक्षी कित्तामा उभिनु अस्मिताका लागि सबैभन्दा पेचिलो अवस्था हो। यद्यपि, यज्ञराज सुनुवारले अस्मितालाई खुलेर साथ दिएका छन्। सुनुवारको ‘लिगेसी’ र युवाहरूको नयाँ भोट बैंकको बलमा अस्मिता यो विद्रोहलाई चिर्ने दाउमा छिन्।

कम उमेर तर पाको यात्रा
बाहिरबाट हेर्दा ३० वर्षको उमेर ‘काँचो’ देखिए पनि अस्मिताको राजनीतिक यात्रा भने निकै परिपक्व र चरणबद्ध देखिन्छ।

२०५२ सालमा लिखु गाउँपालिका-७ गाम्नाङ्गटारमा जन्मिएकी उनी राजनीतिक परिवारमा हुर्किइन्। उनका बुवा २०४९ सालमै एमालेबाट साविक गाम्नाङ्गटार गाविसको उपाध्यक्ष भइसकेका थिए।

ओखलढुंगाबाट एसएलसी सकेर काठमाडौं शिक्षा क्याम्पसमा बी.एड. पढ्दादेखि नै उनी अनेरास्ववियुको राजनीतिमा सक्रिय भइन्। विद्यार्थी राजनीतिमा क्याम्पस कमिटीदेखि केन्द्रीय सदस्य र महिला विभाग सचिवसम्मको जिम्मेवारी उनले कुशलतापूर्वक निर्वाह गरिन्।

पढाइ सकेर गाउँ फर्किएपछि उनी भूगोलको राजनीतिमा होमिन। २०७८ मा जिल्ला कमिटी सदस्य हुँदै २०७९ को स्थानीय तह निर्वाचनमा लिखु गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भइन्।

उपाध्यक्ष हुँदा उनले अघि सारेको ‘उज्यालो लिखु’ कार्यक्रम, महिला तथा बालबालिका लक्षित योजनाहरूले उनलाई जिल्लाभर चिनायो।

छोटो समयमै पार्टीको जिल्ला उपसचिव हुँदै ११औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी अस्मिता अहिले जिल्ला निर्वाचन सह-इन्चार्जको भूमिकामा पनि छिन्।

‘जिल्लामा विकास, सदनमा नीति’
अस्मिता आफूलाई केवल एउटा पार्टीको उम्मेदवारभन्दा पनि समयको माग र परिवर्तनको संवाहकका रूपमा प्रस्तुत गर्छिन्। ‘म अहिलेको समयले खोजेको उम्मेदवार हुँ, ममा काम गर्ने हुटहुटी छ’,  उनी भन्छिन्।

सांसदलाई केवल बाटोघाटो खन्ने र पुल बनाउने विकास एजेन्टका रूपमा मात्र बुझ्ने परिपाटीलाई उनी चिर्न चाहन्छिन्। उनको स्पष्ट बुझाइ छ- सांसदको मुख्य काम विधि निर्माण हो।

‘संसदमा गएर ओखलढुंगाको पीडालाई नीति र बजेटमा रूपान्तरण गर्ने मेरो योजना छ,’ उनले सुनाइन्, ‘हाम्रा गाउँबस्तीका सम्भावनालाई सरकार समक्ष बुलन्द रूपमा सुनाउनेछु।’

यद्यपि, जनताको अपेक्षा विकासमै बढी हुने यथार्थ उनलाई थाहा छ। त्यसैले जिल्लाका अधुरा आयोजनालाई पूर्णता दिने, सडक सञ्जाल विस्तार गर्ने र स्थानीय रोजगारी सिर्जना गर्ने विषयलाई उनले आफ्नो संकल्प प्रस्तावमा समेटेकी छन्।

अस्मिता थप्छिन्, ‘युवा र महिलामैत्री कानून निर्माणमा आफ्नो क्षमता प्रयोग गर्नेछु। संसदमा जिल्लाको सरोकार मात्र होइन, भ्रष्टाचार र बेथितिविरुद्ध स्पष्ट अडान लिनेछु। एक युवा महिलाका रूपमा मैले मेरो उमेर समूह र जेन्डरको विषयलाई राष्ट्रिय विमर्शको रूपमा स्थापित गर्नेछु।’

०००

भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो- पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो।

हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार-प्रसार सुरू भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब ‘कसरी रोकिन्छ र?’ भन्ने दृढता देखिन्छ।

जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनिका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरू गरेको हो।

मिसन पुस्तान्तरणको यसअघिका सामग्री:

माघ १९, २०८२ सोमबार ०७:३७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।