पूर्वप्रधानमन्त्री नेपाल जोडिएको 'पतञ्जलि' प्रकरणमा साक्षी झिकाउने आदेश

पूर्वप्रधानमन्त्री नेपाल जोडिएको 'पतञ्जलि' प्रकरणमा साक्षी झिकाउने आदेश

काठमाडौं : पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ। आइतबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सरकारी साक्षी झिकाउने आदेश दियो।

तत्कालीन प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा अदालतले प्रमाणिकरणका लागि साक्षीहरूलाई उपस्थित गराउन भनेको छ। सरकारी साक्षीहरूको बयानपछि यो बहुचर्चित भ्रष्टाचार मुद्दाको सुनुवाइ प्रक्रिया थप अघि बढ्नेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तत्कालीन प्रधानमन्त्री नेपालको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गते काभ्रेको साँगास्थित जग्गामा पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न स्वीकृति दिने निर्णय गरेको थियो।

अख्तियारको दाबीअनुसार, सो निर्णयमार्फत ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरिएको छ। सोही अभियोगमा अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजायको मागदाबी गरेको छ।

यसअघि असार ११ गते भएको थुनछेक बहसपछि विशेष अदालतले पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। 

माघ १८, २०८२ आइतबार १४:४६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।