सूर्यकुण्ड हाइड्रोको आइपिओ आजदेखि खुला

सूर्यकुण्ड हाइड्रोको आइपिओ आजदेखि खुला

काठमाडौं : सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आइतबारदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले यस चरणमा ५ लाख ७२ हजार ४३१ कित्ता साधारण सेयर निष्कासन गरेको छ।

कम्पनीका अनुसार कुल निष्कासित सेयरमध्ये ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार ७९३ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ। साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध रहेको छ।

यो आइपिओ छिटोमा माघ २१ गते बन्द हुनेछ भने सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा फागुन ३ गतेसम्म खुला रहनेछ। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

यसअघि कम्पनीले मंसिर २५ गते नेपाल धितोपत्र बोर्डबाट १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

सोहीअनुसार पहिलो चरणमा गत पुस ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ जारी गरिएको थियो। पहिलो चरणको सेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणअन्तर्गत आजदेखि आम सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

माघ १८, २०८२ आइतबार १०:०६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।