'भिजन-१०' मार्फत देशलाई विश्वासयोग्य विकल्प दिने कांग्रेसको दाबी

'भिजन-१०' मार्फत देशलाई विश्वासयोग्य विकल्प दिने कांग्रेसको दाबी

काठमाडौं : नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि वस्तुगत धरातलमा आधारित ‘भिजन-१०’ अवधारणासहितको चुनावी घोषणापत्र निर्माण सुरु गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई केन्द्रमा राखेर घोषणापत्र तयार भइरहेको जानकारी दिए।

उनका अनुसार यस पटकको घोषणापत्र केवल राजनीतिक प्रतिबद्धता र आकांक्षामा मात्र सीमित नभई कार्यान्वयनको ठोस मार्गचित्रसहितको हुनेछ। उनले घोषणापत्रमा समेटिने कार्यक्रमका लागि आवश्यक पर्ने स्रोत, साधन र वित्तीय व्यवस्थापनको विषयलाई स्पष्ट रूपमा उल्लेख गरिने बताए।

“हामी केवल चुनावी नारा मात्र दिने छैनौं, घोषणापत्रमा समेटिएका कार्यक्रम सम्पन्न गर्न स्रोतको व्यवस्थापन कसरी हुन्छ भन्ने स्पष्ट खाकासमेत प्रस्तुत गर्नेछौं,” चालिसेले भने। कांग्रेसले घोषणापत्रलाई जनस्तरको आवश्यकतासँग जोड्न देशभरका ७७ वटै जिल्ला र स्थानीय तहबाट सुझाव संकलन गरिरहेको जनाएको छ। 

स्थानीय, क्षेत्रीय र जिल्लास्तरबाट आएका सुझावहरूलाई एकीकृत गरी राष्ट्रिय आवश्यकता र क्षमताअनुसार प्राथमिकता निर्धारण गरिने प्रवक्ता चालिसेले स्पष्ट पारे। “कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ,” उनले थपे, “यसले सबै वर्ग, क्षेत्र र समुदायको भावना समेट्ने प्रयास गर्नेछ।”

कांग्रेसले स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाकासहितको जनतासामु विश्वासयोग्य विकल्प प्रस्तुत गर्ने उनको दाबी छ। चालिसेले मुलुकलाई ‘नयाँ प्रयोग’ (न्यु टेस्ट) को नाममा प्रयोगशाला बनाउन नहुने चेतावनी दिए। स्थापित राजनीतिक संस्थाहरू कहिल्यै पुराना नहुने तर्क गर्दै उनले विचार र नेतृत्वको परिमार्जनमार्फत भरोसायोग्य भविष्य निर्माण हुने जिकिर गरे।

“पार्टी पुरानो हुँदैन, विचार नयाँ दिने हो, नेतृत्व नयाँ दिने हो। विश्वभर पुराना पार्टीहरूमा नयाँ नेतृत्व आउने गर्छ, र त्यही प्रक्रियाबाट भरोसायोग्य भविष्य निर्माण हुन्छ,” उनले अगाडि थपे, “नागरिकले दिने मतले देशको भविष्य निर्धारण गर्छ। कांग्रेस नै देशको भविष्य हो भन्ने विश्वासका साथ पार्टी चुनावी मैदानमा उत्रिएको छ।”

माघ १७, २०८२ शनिबार १८:२८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।