सिरहा २ मा रास्वपा र प्रलोपाबीच चुनावी तालमेल : प्रत्यक्षमा 'घण्टी' र समानुपातिकमा 'आँखा'मा भोट
काठमाडौं : सिरहाको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल भएको छ। शुक्रबार दुवै पार्टीबीच संयुक्त रूपमा चुनावमा जाने समझदारी भएको हो।
सहमतिअनुसार रास्वपाका उम्मेदवार शिवप्रसाद यादवलाई प्रलोपाले समर्थन गर्नेछ। प्रलोपाका नेता, कार्यकर्ता र समर्थकहरूलाई प्रत्यक्षतर्फ रास्वपाको चुनाव चिन्ह 'घण्टी' मा मतदान गर्न निर्देशन दिइएको छ।
समानुपातिकतर्फ भने रास्वपाले प्रलोपालाई सहयोग गर्ने छ। सिरहा क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ प्रलोपाको चुनाव चिन्ह 'खुलेको एकल आँखा' मा मतदान गर्न दुवै दलले संयुक्त अपिल गरे।
रास्वपाका केन्द्रीय सदस्य तथा उम्मेदवार शिवप्रसाद यादव र प्रलोपाका केन्द्रीय सदस्य एवं सिरहा जिल्ला इन्चार्ज अरविन्द कुमार यादवद्वारा हस्ताक्षरित सहमति पत्रमा जनताको हित, सुशासन र लोकतान्त्रिक मूल्य-मान्यतालाई मजबुत बनाउन सहकार्य गरिएको उल्लेख छ।
"यो सहकार्य जनताको अपेक्षाअनुसार राजनीतिक स्थिरता, पारदर्शिता र जबाफदेहिताको दिशामा केन्द्रित रहने विश्वास व्यक्त गर्दछौं," सहमति पत्रमा भनिएको छ।
माघ १७, २०८२ शनिबार १७:०९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।