'धुरन्धर'को गीत 'फासला'ले बनायो विश्व कीर्तिमान

'धुरन्धर'को गीत 'फासला'ले बनायो विश्व कीर्तिमान

एजेन्सी : बलिउड फिल्म 'धुरन्धर'को गीत 'फासला'ले नयाँ कीर्तिमान कायम गरेको छ। गीतले आधिकारिक रूपमा 'गिनीज वर्ल्ड रेकर्ड' मा स्थान बनायो। गीतका गायक बहराइनका र्यापर फ्लिपेराचीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरे। 

अहिले यो गीतले बिलबोर्ड अरेबिया चार्ट्समा सबैभन्दा लामो समयसम्म शीर्ष स्थानमा रहने रेकर्ड बनायो। 'गिनीज वर्ल्ड रेकर्ड्स' मा नाम आएपछि फ्लिपेराची निकै हर्षित छन्। 

फिल्म 'धुरन्धर' को गीत 'फासला'ले भारतमा निकै चर्चित बन्यो। र्यापर फ्लिपेराचीलाई भारतमा रातारात स्टार बनाइदियो। उनले प्रतिक्रिया दिँदै भनेका छन्, "गिनीज वर्ल्ड रेकर्ड्स, हबीबी! यो निकै सुखद अनुभूति हो। यो गीत त्यो भाषा (हिन्दी) मा प्रसिद्ध भयो, जसमा यो गाइएको थिएन। मलाई यो गीत चार वटा फरक-फरक चार्ट्समा शीर्ष स्थानमा रहेको जानकारी दिइएको छ।"

'Fa9la' गीत बिलबोर्ड अरेबियाद्वारा तयार पारिएका चार्ट्स- 'टप १०० आर्टिस्ट', 'हट १०० सङ्ग्स', 'टप ५० खलिजी' र 'टप ५० अरेबिक हिप हप' मा शीर्ष स्थानमा पुगेको छ। भारतमा पनि यो गीत विभिन्न प्लेटफर्महरूमा निकै रुचाइयो। गीत सार्वजनिक भएपछि निकै चर्चित बन्यो। धेरै मानिसहरूले यसमा 'रिल्स' समेत बनाएका थिए।

रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्म 'धुरन्धर' ५ डिसेम्बर २०२६ मा प्रदर्शनमा आएको थियो। यसमा रणवीर सिंहका साथै अक्षय खन्ना, सञ्जय दत्त, अर्जुन रामपाल र आर. माधवन जस्ता कलाकारहरूको अभिनय रहेको छ। फिल्मले भारतमा ८३६ करोड रुपैयाँको व्यापार गरेको छ।

माघ १७, २०८२ शनिबार १४:५८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।