गगनलाई भगवान बनाउँदै सचिनले भने- ‘राम मिसनमा हुनुहुन्छ, भरत बनेर सम्हाल्नेछु’

गगनलाई भगवान बनाउँदै सचिनले भने- ‘राम मिसनमा हुनुहुन्छ, भरत बनेर सम्हाल्नेछु’

काठमाडौं : नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार सचिन तिमल्सेनाले सभापति गगन थापाको देवत्वकरण गर्दै चुनावी अभियान थालेका छन्।

शनिबार कार्यकर्ताहरूसँगको भेटघाटमा तिमल्सेनाले काठमाडौं-४ लाई अयोध्या र गगन थापालाई मिसनमा निस्केका भगवान् रामको संज्ञा दिएका हुन्।

गगन थापा यसपटक काठमाडौं छाडेर सर्लाही-४ मा चुनाव लड्न गएको प्रसङ्गलाई धार्मिक रूपक दिँदै उनले आफूलाई गगनको ‘खराउ’का रूपमा प्रस्तुत गरे।

‘म सबैलाई साक्षी राखेर भन्न चाहन्छु- यो क्षेत्र अयोध्या हो र राम अहिले विशेष मिसनमा जानुभएको छ,’ उनले भने, ‘राम वनवास गएका बेला भरतले अयोध्या सम्हाले झैँ, अबको ५ वर्ष म भरत बनेर यो क्षेत्र सम्हाल्नेछु।’

तिमल्सेनाले गगन थापालाई केवल नेता मात्र नभई देशकै निर्विकल्प प्रधानमन्त्रीको रूपमा उभ्याए। उनले आफू सांसद भएर संसद् छिर्नुको एकमात्र ठूलो लक्ष्य गगन थापालाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउनु रहेको उद्घोष गरे।

‘गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबैभन्दा दरिलो मियोका रूपमा म उभिनेछु’, उनले कार्यकर्तामाझ भने।

तिमल्सेनाले आफ्नो क्षेत्रका युवाहरूका लागि भने उद्यमशीलताको मुद्दा अघि सारेका छन्। उनले युवाहरू रोजगारीका लागि विदेश पलायन हुने क्रम रोक्न आफूले विशेष मेहेनत गर्ने बताए।

‘उद्यमशीलतामा नजोडेसम्म युवाहरू नेपाल बस्नेवाला छैनन्,’ उनले नीतिगत सुधारको दाबी गर्दै भने, ‘पहिलोपटक व्यापार गर्ने नवयुवाहरूका लागि सुरुवाती दुई वर्षसम्म कर माफ गर्ने कानुन बनाउन म लागिपर्नेछु।’

उनले काठमाडौं-४ ले सधैँ अब्बल सांसद पाएको इतिहास दोहोर्याउँदै स्थानीय समस्या समाधानमा आफू खट्ने बताए।

विशेषगरी खानेपानी र भौतिक पूर्वाधारका समस्यामा आफ्नो ध्यान केन्द्रित हुने र गगन थापाले देखाएको विकासको बाटोलाई आफूले निरन्तरता दिने उनले जिकिर गरे।

माघ १७, २०८२ शनिबार १३:३६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।