चुनावको चटारो : 'सुनसान' आयोगमा देखिएको 'चुनावी' चहलपहल

चुनावको चटारो : 'सुनसान' आयोगमा देखिएको 'चुनावी' चहलपहल

काठमाडौं :  सामान्य दिनमा शान्त देखिने कान्तिपथस्थित निर्वाचन आयोगको परिसर अचेल निकै चलायमान छ। फागुन २१ का लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा कर्मचारीहरू एकाएक व्यस्त भएका छन्।

'जेनजी' आन्दोलनको रापतापपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले देशलाई निर्वाचनको लयमा डोर्याएको छ। हुन्छ कि हुन्न भन्ने संशयकाबीच फागुन २१ को निर्वाचनको रापले देशलाई नै छपक्क छोपिसकेको छ। उम्मेदवारहरू गाउँ-बस्ती छिरिरहेका छन्।

उम्मेदवार र दल मात्रै हैन अहिले आयोगभित्र करिब १ करोड ८९ लाख मतदाताको विवरण रुजु गर्ने र परिचयपत्र छपाइ गर्ने काम पनि युद्धस्तरमा भइरहेको छ। परिचय पत्र छाप्ने मेसिनको आवाज बाहिरैबाट सुन्न सकिन्छ।

आयोगभित्रका मुद्रण मेसिनहरूले विश्राम पाएका छैनन्। फागुन २० सम्म १८ वर्ष पुग्ने १ करोड ८९ लाख मतदाताका लागि नयाँ र अद्यावधिक परिचयपत्रहरू धमाधम छापिने क्रम जारी छ।

निर्वाचनले आयोगलाई कति व्यस्त बनाएको छ भन्ने परिसर छिर्ने बित्तिकै महसुस गर्न सकिन्छ। त्यहाँ कर्मचारी र सुरक्षाकर्मीको व्यस्तता सिधै अनुभव गर्न सकिन्छ।

आयोगका कर्मचारी पुस १२ गते प्रकाशित अन्तिम नामावली र छापिएको कार्डमा भएको विवरण (नाम, फोटो, ठेगाना) सही छ कि छैन भनी रुजु गर्न व्यस्त छन्।

यसपटक २०७९ को चुनावभन्दा ९ लाख १५ हजार ११९ नयाँ मतदाता थपिएका छन्। तस्बिरमा भर्खरै छापिएका युवा मतदाताका रंगीन परिचयपत्रहरूको चाङ देख्न सकिन्छ।

एकातिर नयाँ मतदाता परिचय पत्र छपाइको काम भइरहेको छ भने रुझु गरेर छापिएका परिचयपत्रहरूलाई क्षेत्रगत रूपमा मिलाएर बाइन्डिङ गर्ने काम पनि जोडतोडले चलिरहेको छ। काममा खटिएका आयोगका कर्मचारीहरूको हात मेसिन झैँ चलिरहेको देखिन्छ। 

कर्मचारीहरु ७७ वटै जिल्लाका लागि परिचयपत्र छुट्टाउँन व्यस्त छन्। १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्रका लागि जिल्लागत रूपमा सामग्री व्यवस्थापन गर्नु आफैँमा चुनौतीपूर्ण काम देखिन्छ। 

यसपटक ७५ मतदान स्थल र ८८५ मतदान केन्द्र बढेका छन्। कर्मचारीहरू नक्सा र तथ्याङ्क हेर्दै नयाँ केन्द्रहरूका लागि आवश्यक सामग्रीको हिसाब-किताब गर्न व्यस्त छन्। 

पाँच नबज्दै सुनसान हुने आयोग परिसरका बत्तीहरु मध्यरातसम्म बलिरहेकै देखिन्छन्। तोकिएको समयमै देशैभरि फोटोसहितको परिचयपत्र पुर्याँउन कर्मचारीहरू ओभरटाइम खटिरहेको यो दृश्यले चुनावको वास्तविक सरगर्मी बुझाउँछ।

माघ १६, २०८२ शुक्रबार २०:०२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।