बसमा लोकेशले बजाउने गीतबाहेक टिममा रमाइलो छ, विश्वकपमा प्रतिस्पर्धात्मक खेल खेल्छौँ : कन्सल्टेन्ट कोच पोथास
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्टेन्ट कोच निक पोथासले आगामी टी-२० विश्वकपका लागि नेपाली टोलीको तयारी र रणनीतिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
क्यानद्वारा सार्वजनिक गरिएको एक भिडियो अन्तर्वार्तामा पोथासले नेपाली खेलाडीहरूको मेहनत र टोलीको वातावरणको प्रशंसा गरेका छन्।
नेपाली टोलीसँगको आफ्नो अनुभव साट्दै पोथासले नेपाली खेलाडीहरू निकै मिहिनेती र नयाँ कुरा सिक्न सधैँ तत्पर रहेको बताए।
‘खेलाडीहरू सुझाव सुन्न र सुधार गर्न निकै खुला छन्, जसले गर्दा हाम्रो काम सजिलो भएको छ’, उनले भने।
टोलीमा निकै शान्त र रमाइलो वातावरण रहेको र यसले खेलाडीहरूलाई मानसिक रूपमा बलियो बनाउन मद्दत पुग्ने उनको विश्वास छ।
उनले ठट्टा गर्दै टोलीको बस यात्रामा लोकेश बमले बजाउने संगीतबाहेक अन्य सबै कुरा आफूले निकै रमाइलो मानिरहेको बताए।
पोथासले टोलीका लागि फिल्डिङ र फिटनेस सम्झौता गर्न नसकिने विषय रहेको स्पष्ट पारे।
‘फिल्डिङ एउटा यस्तो पक्ष हो जसमा टोलीले एकसाथ खेल्छ। राम्रो फिल्डिङ र फिटनेसले खेलाडीहरूले आफ्ना बलर र साथीहरूको कति ख्याल गर्छन् भन्ने देखाउँछ’, उनले थपे।
उनले स्ट्रेन्थ एन्ड कन्डिसनिङ प्रशिक्षक अब्दुल र बलिङ प्रशिक्षक इयान हार्भेको उपस्थितिले टोलीलाई थप मजबुत बनाएको बताए।
विश्वकपका लागि टोलीले तीब्र गतिको बल सामना गर्ने र मानसिक रूपमा शान्त रहने अभ्यास गरिरहेको उनले जानकारी दिए।
सफलताको बारेमा बोल्दै पोथासले भने, ‘हाम्रा लागि सफलता भनेको नतिजा मात्र होइन, बरु हरेक खेलमा उच्च स्तरको प्रतिस्पर्धा गर्नु हो। यदि हामी हरेक खेलमा प्रतिस्पर्धात्मक हुन सक्यौँ भने, त्यो नै ठूलो उपलब्धि हुनेछ।’
नेपाली क्रिकेट समर्थकहरूको चर्चा गर्दै उनले नेपाली फ्यानहरूलाई अद्भुत भनेका छन्।
उनले स्कटल्याण्ड, ओमान र अन्य स्थानमा नेपाली फ्यानहरूले देखाएको उत्साहको स्मरण गर्दै विश्वकपमा भारतपछि नेपालकै सबैभन्दा धेरै समर्थकहरू हुने अपेक्षा व्यक्त गरे। समर्थकहरूको मायाले खेलाडीहरूलाई थप ऊर्जा प्रदान गर्ने उनको अनुभव छ।
नेपाली टोली अहिले विश्वकप केन्द्रित भएर आफ्नो सीप, मानसिकता र गेम अवारनेशमा काम गरिरहेको छ।
माघ १६, २०८२ शुक्रबार १५:०२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।