आफ्नो ब्याट घरमै बिर्सिएका डी ककले साथीको ब्याट मागेर बनाए कीर्तिमानी शतक
एजेन्सी : दक्षिण अफ्रिकी क्रिकेटका स्टार ओपनर क्विन्टन डी ककले वेस्ट इन्डिज विरुद्धको दोस्रो टी-२० खेलमा एउटा निकै रमाइलो र अनौठो अवस्थाका बीच शानदार शतक प्रहार गरेका छन्।
खेलका लागि मैदान निस्कनुभन्दा ३० मिनेटअघि मात्र उनले आफूले आफ्नो ब्याटको ब्याग घरमै बिर्सिएको थाहा पाएका थिए। मैदान जान बस छुट्नै लाग्दा उनले ब्याट नभएको पत्ता लगाए।
डी ककले भने, ‘मैले भर्खरै नयाँ ब्यागहरू लिएको थिएँ, सबै सामान मिलाउँदा ब्याट नै राख्न भुलेछु। जब यो कुरा थाहा पाएँ, मलाई कस्तो-कस्तो भयो। हतार-हतार केही फोनहरू गरेँ तर समयमा ब्याट आउन सम्भव थिएन।’
उपाय नलागेपछि डी ककले ड्रेसिङ रुममा जानुअघि टोलीका युवा खेलाडी डेवाल्ड ब्रेभिसको ब्यागबाट एउटा ब्याट निकाले र भने, ‘आज म यही ब्याट प्रयोग गर्छु।’
ब्रेभिसले ठट्टा गर्दै भने, ‘यो ब्याट तपाईंका लागि राम्रो छ, किनकि यो देब्रेहाते ब्याट हो।’ यद्यपि क्रिकेटमा ब्याट देब्रे वा दाहिने भन्ने हुँदैन र ब्रेभिस आफैँ दाहिने हाते ब्याटर हुन्। ब्रेभिसको यो कुरा सुनेर डी कक अचम्ममा परे।
त्यही सापटी मागेको ब्याटले डी ककले मैदानमा रनको वर्षा गरे। उनले १० छक्का र ६ चौका प्रहार गर्दै आफ्नो टी-२० करिअरकै उत्कृष्ट ११५ रन बनाए।
उनको यो विष्फोटक ब्याटिङले दक्षिण अफ्रिकालाई २२२ रनको विशाल लक्ष्य पछ्याउन मद्दत गर्यो। यसै खेलमार्फत उनी टी-२० अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकाका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि बने।
यति राम्रो ब्याटिङ गरे पनि डी ककले त्यो ब्याट आफैँसँग राख्न अस्वीकार गरेका छन्।
उनले भने, ‘मलाई यो ब्याट खासै मन परेन, यसको तौल मेरो लागि अलि असजिलो थियो। यो जोडले ब्याट घुमाउने युवाहरूका लागि मात्र ठिक छ। मेरो आफ्नै ब्याट आएपछि म यो ब्रेभिसलाई नै फिर्ता दिनेछु।’
डी ककले आफूले धेरै मिहिनेत गर्नुपर्ने अप्ठ्यारो पिचमा रन बनाउँदा बढी सन्तुष्टि मिल्ने भए पनि आजको पिच निकै राम्रो भएकाले ब्याटिङ गर्न सजिलो भएको बताए।
माघ १६, २०८२ शुक्रबार १३:५८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।