मिसन पुस्तान्तरण-८ : सुरक्षित समानुपातिक छाडेर ‘हेभीवेट’सँगको प्रतिस्पर्धामा ३६ वर्षीया पुष्पा

मिसन पुस्तान्तरण-८ : सुरक्षित समानुपातिक छाडेर ‘हेभीवेट’सँगको प्रतिस्पर्धामा ३६ वर्षीया पुष्पा

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले सार्वजनिक गरेको समानुपातिक सूची सुरुदेखि नै चर्चा र विवादमा रह्यो।

सूचीमा असन्तुष्टि जनाउँदै र आलोचना खेप्नुपरेपछि केहीले नाम फिर्ता लिए त केहीले दल नै परिवर्तन गरे। तर, यो रस्साकस्सीका बीच समानुपातिक सूचीबाट आफ्नो नाम झिकेर प्रत्यक्षतर्फको चुनावी मैदानमा होमिन तयार हुने केही पात्रहरू पनि देखिए।

तिनैमध्येकी एक हुन्- ३६ वर्षीया पुष्पा कुमारी चौधरी। उनले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी छन्।

यसअघि २०७९ को निर्वाचनमा पनि समानुपातिक सूचीमा समेटिएकी पुष्पा त्यतिबेला सांसद् हुन सकिनन्। यसपटक भने सुरक्षित मानिने समानुपातिक सिट त्यागेर प्रत्यक्ष रूपमै जनताबाट अनुमोदित हुने दौडमा अघि बढेकी हुन्।

स्वास्थ्य क्षेत्रको अनुभवदेखि राजनीतिसम्म
रास्वपाको संस्थापक सदस्यका रूपमा विगत तीन वर्षदेखि पार्टी राजनीतिमा सक्रिय पुष्पाको यसअघि कुनै स्पष्ट राजनीतिक पृष्ठभूमि थिएन। तर, बाल्यकालदेखि नै घरमा दाजुभाइबीच हुने राजनीतिक गफगाफले उनमा राजनीतिप्रति रुचि जगाएको थियो।

२०४६ सालमा सप्तरीको कञ्चनरुप नगरपालिकामा जन्मिएकी पुष्पाले गाउँमै आधारभूत शिक्षा लिइन् भने उच्च शिक्षा काठमाडौंमा हासिल गरिन्।

पेशाले फर्मासिस्ट उनले वीर अस्पतालमा काम गरेको अनुभव सँगालेकी छन्। स्वास्थ्य क्षेत्रसँगै उनी गाउँमा महिला स्वास्थ्य, परिवार योजना लगायतका सामाजिक कार्यमा स्वयंसेवकका रूपमा सक्रिय रहँदै आएकी छन्।

स्वास्थ्य, शिक्षा र जनजीविकासँग प्रत्यक्ष जोडिएर काम गरेको अनुभवले उनलाई सर्वसाधारणको पीडा र आवश्यकता नजिकबाट बुझ्ने अवसर दियो।

‘गाउँमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोणमा खासै परिवर्तन आएको छैन,’ पुष्पा भन्छिन्, ‘ती महिला र सिङ्गो समाजको मुद्दालाई आफैँले अघि सार्न राजनीतिमा होमिएकी हुँ।’

समानुपातिकमा नाम आएर हराउनुभन्दा प्रत्यक्ष निर्वाचित भएर मधेशका महिला र समाजका मुद्दालाई सशक्तीकरण गर्ने उनको योजना छ।

गत भदौ २३ र २४ मा भएको ‘जेनजी आन्दोलन’ ले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताको मुद्दालाई उनले आफ्नो प्रमुख प्रतिबद्धता बनाएकी छन्।

उकेरालाई उपलब्ध गराएको प्रतिबद्धता पत्रअनुसार पुष्पाले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरीय सुधार, किसानमुखी कृषि नीति, उत्पादन सुरक्षा र वैकल्पिक सिँचाइलाई प्राथमिकतामा राखेकी छन्।

यस्तै, साना व्यवसायीका समस्या समाधान, नदी नियन्त्रण, हात्ती आतङ्कको दीर्घकालीन समाधान र क्षतिपूर्ति तथा सबै जातजाति र संस्कृतिको संरक्षण उनका मुख्य एजेन्डा हुन्।

चुनावी अंकगणित र प्रतिस्पर्धी
सप्तरी-१ को चुनावी मैदानमा यसपटक २१ जना प्रतिस्पर्धी छन्, जसमध्ये सात जना स्वतन्त्र उम्मेदवार छन्। पुष्पाले यहाँ पुराना र स्थापित दलका ‘हेभीवेट’ उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

एमालेबाट सुमनराज प्याकुरेल, नेपाली कांग्रेसबाट रामदेव साह तेली, माओवादी केन्द्रबाट सागरकुमार चौधरी, राप्रपाबाट सत्यजितकुमार झा, जनमत पार्टीबाट जयकान्त राउत र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट श्यामसुन्दर सरदार उनका मुख्य प्रतिस्पर्धी हुन्।

त्यस्तै, पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले गठन गरेको नयाँ दल ‘स्वाभिमान पार्टी’ बाट सुमितकुमार पनि मैदानमा छन्। सुमित यस क्षेत्रका निवर्तमान सांसद नवलकिशोर साह सुडीका छोरा हुन्।

विगतको तथ्याङ्क हेर्दा यो क्षेत्रमा जसपा बलियो देखिन्छ। यसअघिका चारवटा निर्वाचनमा जसपाले यहाँ जित हासिल गरेको थियो। २०७९ मा जसपाका नवलकिशोर साह सुडीले २३ हजार ६०४ मत ल्याएर जितेका थिए।

तर, विगतमा एमालेको साथ पाएको जसपा यसपटक एक्लै मैदानमा छ। जसपाले अघि सारेका उम्मेदवार सरदार मधेश आन्दोलनका अभियन्ता र नयाँ अनुहार हुन्।

अर्कोतर्फ, कांग्रेसका रामदेव साह तेली तेस्रोपटक चुनावी मैदानमा छन्। २०७९ मा १४ हजार ३१२ मतसहित तेस्रो भएका तेली यसपटक स्थानीय तहमा कांग्रेसको बलियो उपस्थितिको फाइदा उठाउँदै नतिजा उल्ट्याउने दाउमा छन्।

परिवर्तनको लहर र पुष्पाको आशा
एक लाख नौ हजार मतदाता रहेको यो क्षेत्रमा थारु, यादव र दलित समुदायको बाहुल्य छ। जातीय समीकरण र पुराना दलहरूको दबाबका बाबजुद पुष्पा आफ्नो जितप्रति आशावादी छिन्।

काठमाडौंका पूर्वमेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र सभापति रवि लामिछानेको मधेश भ्रमणले पार्टीप्रति सकारात्मक माहोल सिर्जना गरेको उनको बुझाइ छ। यसले गर्दा उनी निर्धक्क रूपमा घरदैलो कार्यक्रममा व्यस्त छिन् उनी।

मधेशमा चलिरहेको नयाँ दल र परिवर्तनको लहरले आफूलाई फाइदा पुग्ने विश्वासका साथ उनी घरदैलो अभियानमा व्यस्त छिन्।

०००

भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो- पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो।

हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार-प्रसार सुरू भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब ‘कसरी रोकिन्छ र?’ भन्ने दृढता देखिन्छ।

जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनिका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरू गरेको हो।

मिसन पुस्तान्तरणका यसअघिका समाचार:

माघ १६, २०८२ शुक्रबार ०८:२१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।