पाँच वर्षमा मधेस प्रदेशलाई नमुना बनाउने गगनको दाबी

पाँच वर्षमा मधेस प्रदेशलाई नमुना बनाउने गगनको दाबी

सर्लाही :  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमुना बनाउने दाबी गरेका छन्। सर्लाहीको बरहथवा नगरपालिका–७ मा बजार विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा थापाले आफूले निर्वाचन लडेको क्षेत्रलाई पाँच वर्षमा मधेस प्रदेशकै नमुना बनाएर देखाउने दाबी गरे।

मधेसबाट चुनाव लड्ने निर्णय आफ्नो विकल्प नभई चाहना भएको उनको दाबी थियो। पहाड र शहर बुझेको आफूले तराई बुझ्न अति आवश्यक रहेको भन्दै उनले मधेस पढ्न सर्लाही आएको बताए। थापाले सोमबारदेखि आफूले उम्मेदवारी दिएको सर्लाही–४, मा घरदैलो कार्यक्रम गरिरहेका छन्।

देश विकास आजको आवश्यकता रहेको भन्दै उनले त्यसका लागि चाहिने स्रोत र जनशक्ति नेपालमा रहेकाले अब दृढ इच्छा शक्ति भएको कांग्रेस नेतृत्वमा रहन आवश्यक भएको दाबी गरे। जेनजी आन्दोलनको जनादेशअनुसार पार्टी भित्रैबाट सङ्घर्ष गरेर पार्टीको नेतृत्व तयार भएको उनको भनाइ थियो। पार्टीमा जेनजीको योगदान पुरानो रहेको उल्लेख गर्दै सभापति थापाले शहिद दुर्गानन्द झाको योगदानबारे चर्चा गरेका थिए।

"झाले १८-१९ वर्षको उमेरमा देश र पार्टीका लागि गरेको योगदान अमूल्य छ" उनले भने।

माघ १५, २०८२ बिहीबार २२:१९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।